इटहरी/ यही फागुन १४ गते शिवरात्रिका दिन प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ मार्फत अभिनेत्री सुपुष्पा भट्ट लामो समयपछि सिल्भर स्क्रिनमा फर्किंदैछिन् । अडिसनबाट छनोट हुँदै ‘रणवीर’ फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी सुपुष्पा यो पटक आफ्नै होम प्रोडक्सनको फिल्ममार्फत पुनः दर्शकमाझ आउँदैछिन् । सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन् । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा सुपुष्पाले आफ्नो भूमिकाबारे खुलेर कुरा गरिन् ।
उनले आफूले निभाएको पात्रलाई लिएर उत्साहित भए पनि फिल्मको नतिजा प्रति ‘फिङ्गर क्रस’ अवस्थामा रहेको बताइन् । सुपुष्पाका अनुसार, ‘फेरि रेशम फिलिली’ मा ‘फिलिली गर्ल’ बन्दै गर्दा उनलाई निकै गर्व महसुस भएको थियो । ‘जब मलाई थाहा भयो कि म यो फिल्मको मुख्य पात्र बन्नेछु, त्यतिबेला एकदमै खुशी लागेको थियो । प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट बलियो भएकाले फिल्म राम्रो बन्ने कुरामा ढुक्क थिएँ,’ उनले भनिन् ।

निर्देशक निरोज महर्जनले उनको चरित्रलाई ध्यानमा राखेर नै कथा तयार पारेका थिए । त्यसैले अन्य विकल्प खोज्ने झण्झटै परेन । ‘फेरि रेशम फिलिली’ सिक्वेल भएकाले धेरै कलाकार दोहोरिएका छन् तर सुपुष्पा नयाँ अनुहारका रूपमा प्रस्तुत भएकी छिन् । यसैले उनीमाथि दर्शकको अपेक्षा पनि उच्च छ । ‘पहिलो फिल्म र यो फिल्ममा तुलना गर्न मिल्दैन, किनभने मेरो पात्र नै फरक छ । यो बोल्ड र आत्मविश्वासी छ, जो आफूले चाहेको कुरामात्रै गर्छ,’ उनले भनिन् ।
फिल्ममा आफ्नो भूमिकालाई न्याय दिन आफूले भरपूर मेहनत गरेको बताउँदै उनले थपिन्, ‘मैले सक्दो मेहनत गरेकी छु, तर परिणाम दर्शकले नै बताउनेछन् ।’ यसबीच उनले अर्को फिल्मलाई पनि समय दिनुपर्ने भएकाले तयारीमा केही कमी भएको महसुस भएको बताइन् । ‘अझ मेहनत गर्न सक्थे कि भन्ने महसुस हुन्छ,’ उनले भनिन् । तर, उनले राम्रो स्क्रिप्टलाई प्राथमिकता दिने भएकाले यो फिल्मप्रति निकै आशावादी छिन् । फिल्मको स्क्रिप्ट बलियो मात्र नभई उनको भूमिकासमेत प्रभावशाली भएकाले उनी उत्साहित छिन् ।

‘मलाई फिल्म खेल्नुअघि स्क्रिप्ट राम्रो छ कि छैन भन्ने पहिलो चासो रहन्छ । यसमा स्क्रिप्ट मात्र होइन, मेरो भूमिका पनि उत्कृष्ट छ,’ उनले भनिन् । फिल्ममा विनय श्रेष्ठ, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश दाहाल, सजन थापा लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत, सुरेन्द्र पौडेलको सम्पादन फिल्ममा समावेश छ । सिनेमा आर्ट्स र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्माता एनि थापा हुन् । फिल्मको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका छन् भने गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् ।














Discussion about this post