इटहरी/ यतिबेला नेपाली चलचित्र उद्योगलाई दशा चलिरहेको छ । केहीअघि मात्रै ‘: टेक वान’ले रिलिजको संघारमा अदालतको अन्तरिम आदेशको कारण रोकिएको घटना सेलाउन नपाउँदै यतिबेला रिलिज नजिकै रहेको ताण्डवम् र लाज शरणम् फिल्मलाई पनि प्रदर्शनमा रोक्का गरिएको छ । फिल्म ‘लाज शरणम्’लाई अदालतको अन्तरिम आदेशले रोक्का गरेको हो भने ‘ताण्डवम्’लाई सेन्सर बोर्डले ।
बुझिएअनुसार फिल्म ‘ताण्डवम्’लाई सेन्सर बोर्डले हिजो मङ्गलबार ६ गते केही महिला हिंसात्मक दुश्य करेक्सन गरेर ल्याउनु भनिएको थियो । यो फिल्मको आज साँझ ५ बजेदेखी प्रीमियर शोको आयोजना गरिँदै थियो । आज प्रजातन्त्र दिवस बिदा भएकोले सेन्सर सर्टिफिकेट निर्माण युनिटको हातमा नपर्दा आज तय गरिएको प्रीमियर प्रभावित भएको छ ।
यता निर्देशक जुमिन गहतराजको भनाई अनुसार फिल्मको मुख्य प्लट मध्येको एक सिन नै हटाउन सेन्सरले भनेको छ, जुन ६ मिनेटको क्लाइमेक्सलाई ३ मिनेटको बनाएर ल्याउन सेन्सरको निर्देशन छ । तर, निर्देशक गहतराजले आफूले एडल्ट सर्टिफिकेट दिन आग्रह गर्दासमेत उक्त सिन नहटाई दिन नमिल्ने सेन्सर पदाधिकारीबाट कुरा आएको जानकारी गराए । यो फिल्म यही शुक्रवार अर्थात् फागुन ९ गतेबाट देशव्यापी रुपमा प्रदर्शनको तयारीमा छ ।
यस्तै हिजो मङ्गलबार नै फिल्म ‘लाज शरणम्’लाई समेत पाटन उच्च अदालतले सेन्सर पास हुनु अगाडि प्रचारप्रसार रोक्न अन्तरिम आदेश जारी गरेको छ । पूर्व मन्त्री मोहम्मद अफताव आलमले अनुमति बिना आफ्नो अनुहारसँग मिल्दोजुल्दो मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज प्रयोग गरेको भन्दै रिट दायर गरेका थिए । यो फिल्म यही फागुन १४ गते शिवरात्रिमा प्रदर्शनको तयारीमा थियो । यस फिल्ममा सिताराम कट्टेल ‘धुर्मुस’ले आलमको हाउभाउ मिल्ने भूमिकामा अभिनय गरेका छन्, जसको पोस्टर तथा टिजर सार्वजनिक भइसकेको छ भने ट्रेलर सार्वजनिकको पूर्व सन्ध्यामा फिल्म युनिटलाई यस्तो झड्का आइलागेको हो ।














Discussion about this post