इटहरी/ नेपालको साइन्स फिक्सन फिचर फिल्म ‘एक्लो’को मुख्य पात्र कालको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । अभिनेता सुरज सिंह ठकुरी फिचर्ड यस पोस्टरमा उनी डरलाग्दो अवतारमा प्रस्तुत छन् । ठकुरीलाई कम फिल्ममा देखिए पनि आफ्नो दमदार उपस्थिति जनाउने कलाकारका रूपमा लिइन्छ, जसले गर्दा यो लुक्सले ‘एक्लो’ प्रति दर्शकको उत्सुकता झनै बढाएको छ ।
फिल्म एक्लो, निर्देशक प्रदीप शाहीको तेस्रो निर्देशकीय प्रयास हो । बेलायतमा बस्दै आएका शाहीले ‘एक्लो’ लाई हलिउड स्तरको बनाउन मिहिनेत गरिरहेका छन् । हाल फिल्मको पोस्ट-प्रोडक्सन कार्य लण्डनमा भइरहेको छ र सम्पूर्ण काम सकिएपछि मात्र प्रदर्शन मिति घोषणा गर्ने उनको तयारी रहेको छ ।

फिल्मको स्टारकास्ट प्रभावशाली रहेको छ । प्रदीप खड्का, विजय लामा, सुनील थापा, दिया पुन, वेनिशा हमाल, दिनेश डीसी, कविता नेपाली, त्रिचु राई, कृष्णभक्त महर्जन, विकास अधिकारी, दिग्गज खत्री, विनोद सुवेदी ‘क्षितिज’, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेमिन श्रेष्ठ र स्योन सविक सिंहका साथै बेलायती अभिनेता जेमी बेकन पनि फिल्ममा छन् ।
‘एक्लो’ का निर्माता राजु कुमार गुरुङ, हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी ‘क्षितिज’ रहेका छन् । छायाङ्कन बाबु श्रेष्ठले गरेका छन् भने द्वन्द्व निर्देशन राजु तामाङको रहेको छ । सेट डिजाइनमा राजु पेन्टर, कला निर्देशनमा सन्तोष लामा र प्रोडक्सन डिजाइनरका रूपमा द्रोण प्रसाद पौडेल ‘ठेउके’ छन् । फिल्म ‘एक्लो’ले नेपाली दर्शकलाई नयाँ अनुभव दिने अपेक्षा गरिएको छ, जसले साइन्स फिक्सन विधामा नयाँ मानक स्थापित गर्न सक्छ ।














Discussion about this post