इटहरी/ आफ्नै जीवनको नयाँ अध्याय सुरु गर्न लागेका एक नवविवाहित जोडीको संसार अचानक उल्टो हुन्छ, जब उनीहरूको जीवनमा अकल्पनीय घटना घट्छ । यही भावनात्मक र रहस्यमयी उतारचढावलाई चित्रण गर्ने फिल्म ‘ताण्डवम्’ आगामी फागुन ९ गते प्रदर्शनमा आउँदैछ । जुनिम गहतराज निर्देशित यस फिल्मले पारिवारिक एक्सन थ्रीलरको रूपमा दर्शकलाई नयाँ अनुभव दिने निर्माण टीमको तयारी छ ।
फिल्मका मुख्य कलाकार मध्यका एक अंकित खड्काले ‘ताण्डवम्’लाई दर्शकले मन पराउने विश्वास व्यक्त गरेका छन् । ‘फिल्मको कथा, पात्र र प्रस्तुतिले मलाई तान्यो । त्यसैले नै मैले यो फिल्म रोजेँ । मेरो पात्र ‘घैटे’ आमाको माया नपाएर हुर्किएको युवक हो । आमाप्रतिको उसको दृष्टिकोण फरक छ, जसले उसको जीवनलाई प्रभाव पार्छ । फिल्मले आमाको महत्वलाई पनि विशेष रूपमा प्रस्तुत गर्छ,’ उनले भने ।

अंकितका लागि यो पात्र निभाउनु निकै कठिन रह्यो । फिल्मको सुटिङकै क्रममा उनकी आमाको निधन भएकाले आमालाई गाली गर्ने चरित्रमा भिज्न निकै संघर्ष गर्नुपर्यो । ‘आमा शब्दलाई गाली गर्नु मेरो लागि निकै असहज थियो । तर, पात्रको आवश्यकता अनुसार निभाउनुपथ्र्यो । कलाकारका लागि सबै भूमिकालाई न्याय दिनु महत्त्वपूर्ण हुन्छ,’ उनले आफ्नो अनुभव सुनाए ।
‘ताण्डवम्’ प्रायः नयाँ टिमले तयार पारेको फिल्म हो । अंकितका अनुसार, ‘नयाँ निर्देशक, नयाँ सहकर्मीहरूसँग काम गर्दा उत्साह थपिन्छ । फिल्ममा लभस्टोरी, एक्सन, थ्रीलर र पारिवारिक संवेदनशीलता मिश्रित कथा छ । यसले दर्शकलाई विभिन्न स्तरमा छुनेछ ।’ स्थानीय परिवेश र मध्यम वर्गीय परिवारको कथालाई समेटेको ‘ताण्डवम्’ महाशिवरात्रीको अवसर पारेर प्रदर्शन हुँदैछ । अब, फिल्मले दर्शकको मन जित्न कत्तिको सफल हुन्छ, त्यो हेर्न बाँकी छ ।














Discussion about this post