इटहरी/ नेपाली फिल्म क्षेत्रमा नयाँ प्रतिभालाई अवसर दिने उद्देश्य सहित फिल्म ‘द्रौपदी’ले टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको छ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा तयार भएको यो फिल्मले हाल चर्चामा रहेको ‘कर्णाली काटौला’ गीतलाई केन्द्रमा राख्दै प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा भाग लिन टिकटक प्रयोगकर्ताले सोही गीतमा भिडियो बनाएर #draupadichait8 ह्यासट्याग राखी पोस्ट गर्नुपर्नेछ ।
उत्कृष्ट पाँच प्रतियोगीलाई आरबी मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने अवसर दिइनेछ । त्यसमध्ये प्रथम हुनेलाई रु १५,०००, दोस्रोलाई रु १०,००० र तेस्रो हुनेलाई रु ५,००० नगद पुरस्कार प्रदान गरिनेछ । साथै, उत्कृष्ट १०० जनालाई ‘द्रौपदी’ फिल्मको प्रीमियरमा सहभागी गराइनेछ । प्रतियोगिताको नतिजा यही फागुन २० गते ‘द्रौपदी’ फिल्मको अफिसियल फेसबुक पेज तथा मिडियाहरुबाट सार्वजनिक गरिनेछ ।
आयोजकका अनुसार, यो प्रतियोगिता सबै उमेरका दर्शकका लागि खुला छ । पश्चिम नेपालको डोल्पा जिल्लाको से फोक्सुन्डोलगायतका विकट स्थानहरूमा छायांकन गरिएको ‘द्रौपदी’ मा ऋषिराज आचार्य, आश्विनी शाही, रबि ओड, सुजाता तिमिल्सिना, प्रकाश ज्ञवाली, कविराम भामलगायत कलाकार मुख्य भूमिकामा छन् । निर्माण सुरु भएदेखि नै चर्चामा रहेको फिल्मको हालै सार्वजनिक टिजर र गीतले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।














Discussion about this post