इटहरी/ नेपालमा पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल हुने लहड बढ्दै गएको छ । यही प्रवृत्तिलाई व्यंग्य गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘भाईरल गोर्खे’को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । निर्देशक निगम श्रेष्ठको यो फिल्मले भाईरल प्रवृत्तिको सामाजिक प्रभाव र परिणाम उजागर गर्नेछ ।
भ्यालेनटाइन डेको अवसर पारेर सार्वजनिक पोस्टरमार्फत् निर्माण टिमले फिल्मको प्रदर्शन मिति जेठ ३० घोषणा गरेको छ । पोस्टरमा अभिनेता सौगात मल्ललाई सामाजिक सञ्जालमा लाइभ बसेको अवस्थामा देखाइएको छ भने अर्काे पोस्टरमा उनलाई सृष्टि श्रेष्ठसँग रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।

निर्देशक निगम श्रेष्ठका अनुसार नेपालमा सामाजिक सञ्जालको प्रभावसँगै जे गरेर पनि भाईरल हुने प्रवृत्ति मौलाउँदै गएको छ । उनले भने ‘फिल्ममा यस प्रवृत्तिले ल्याउने असर र यसको गहिरो प्रभाव प्रस्तुत गरिनेछ।’ द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको यो फिल्ममा सौगात मल्ल, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल तथा पत्रकार ऋषि धमलाको अभिनय रहेको छ ।

फिल्मका निर्माता विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर हुन् भने भुवन अधिकारी र निखिल पौडेल सह-निर्माता रहेका छन् । अमर महर्जनको छायांकन रहेको ‘भाईरल गोर्खे’को छायाँङ्कन लम्जुङको भुजुङ गाउँ, गोरखा र चितवनमा गरिएको छ । फिल्मले व्यंग्य, हास्य र सामाजिक सन्देशलाई मिसाएर मनोरञ्जन दिने बताइएको छ । अब दर्शकहरू यस फिल्मको ट्रेलरको प्रतीक्षामा छन् ।














Discussion about this post