इटहरी/ नेपाली सङ्गीतमा छुट्टै उचाइ बनाइसकेका गायक रामकृष्ण ढकाल अब फिल्म निर्माणमा प्रवेश गर्दैछन् । ‘मालती मङ्गले’ शीर्षकको फिल्म निर्माण गर्ने घोषणा गर्दै उनले आफ्नो करिअरलाई नयाँ मोड दिएका छन् । केही दिनअघि चलचित्र विकास बोर्डमा दर्ता भइसकेको यस फिल्मको औपचारिक जानकारी उनले सामाजिक सञ्जालमार्फत गराएका हुन् ।
वि.सं. २०५८ (सन् २००१) मा निर्माण भएको ‘आशीर्वाद’ फिल्ममा अभिनय गरेर ढकालले फिल्म जगतमा पाइला चालेका थिए । उक्त फिल्म उनका अभिभावक गोपाल कर्माचार्यले निर्माण गरेका थिए । ‘आशीर्वाद’ आफ्नो सङ्गीतिक यात्रासँग गहिरो रूपमा जोडिएको भन्दै ढकाल भन्छन्, “समय कति छिटो बित्दो रहेछ, २३ वर्ष बितिसकेको रहेछ ! अब, फेरि चलचित्रसँगको अर्को यात्रामा अघि बढ्ने अवसर मिलेको छ। तर, यस पटक भूमिका फरक छ- म निर्माता बनेर आउँदै छु।”

सङ्गीतलाई जीवन मानेका ढकालका लागि ‘मालती मङ्गले’ विशेष महत्त्व राख्ने बताउँदै उनले लेखेका छन्, “यो चलचित्रले मेरा सपनाहरूको एउटा ठूलो हिस्साको प्रतिनिधित्व गर्छ। म सबै दर्शक, चलचित्र प्रेमी, शुभचिन्तक र सङ्गी-साथीहरूसँग यस यात्रामा साथको अपेक्षा गर्दछु” ।
यो फिल्म रानी म्युजिक इन्टरनेशनल प्रा.लि. ब्यानरमा निर्माण हुनेछ । यसका निर्देशक प्रकु पाण्डे (प्रकाश) रहनेछन् भने कार्यकारी निर्माता सागर ज्ञवाली हुनेछन् । फिल्मको अन्य टिमबारे ढकालले हाल थप जानकारी नदिएको उल्लेख गरेका छन् । अब सबैको चासो ‘मालती मङ्गले’ को कथावस्तु र निर्माण शैलीमा केन्द्रित छ । लामो समयदेखि संगीतमा समर्पित ढकालले फिल्म निर्माणमा कस्तो मोड लिन्छन् भन्ने प्रतिक्षाको विषय बनेको छ ।














Discussion about this post