इटहरी/ अभिनय रियालिटी शो ‘एक्टिङ स्टार’ को प्रि-जज अडिसन भव्य रूपमा सम्पन्न भएको छ । महक मिडिया नेटवर्कको आयोजनामा सोमबार सम्पन्न अडिसनमा छानिएका प्रतिस्पर्धीहरूले आफ्नो अभिनय क्षमता प्रस्तुत गर्ने अवसर पाए । शोमा भाग लिन एक हजारभन्दा बढीले डिजिटल अडिसनमार्फत भिडियो पठाएका थिए, जसबाट उत्कृष्ट २२२ जनालाई प्रि-जज अडिसनको लागि छनोट गरिएको थियो ।
अडिसनमा नेपालका विभिन्न स्थानदेखि भारतको सिक्किम, दार्जिलिङ, वेष्ट बंगाल, मुम्बई तथा दुबईबाट समेत कलाकारहरू सहभागी भएका थिए । अभिनयमा रुचि राख्नेहरूदेखि लिएर अनुभवी कलाकारहरूले समेत सहभागिता जनाएको यो शोले नेपाली रियालिटी टेलिभिजनमा अभिनय क्षेत्रलाई प्राथमिकता दिएको पहिलो अवसर भएको छ ।
प्रतियोगिताका क्रममा सहभागीहरूले ‘एक्टिङ स्टार’ को आगमनले कलाकारितामा रुचि राख्नेहरूलाई ठूलो उत्साह दिएको प्रतिक्रिया दिएका छन् । अबको चरणमा प्रवेश गर्ने प्रतिस्पर्धीहरूको नाम केही दिनमै सार्वजनिक गरिनेछ भने फिजिकल अडिसनको घोषणा पनि गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिता मूल्यांकनमा अभिनयका महारथीहरू
‘एक्टिङ स्टार’मा चर्चित अभिनेता तथा निर्देशक नीर शाह, सफल कलाकार निर्माता तथा प्रशिक्षक अनुप बराल र चर्चित अभिनेत्री ऋचा शर्मा निर्णायकका रूपमा रहनेछन् । शोको निर्देशन बिशाल भण्डारीले गर्नेछन् भने टेलिभिजन प्रसारण अधिकार एपिवान टिभीले लिएको छ । ‘एक्टिङ स्टार’को डिजिटल अधिकार ओएस आर डिजिटलले खरिद गरेको छ । विजेताले नगद पुरस्कारसहित फिचर फिल्ममा काम गर्ने अवसर प्राप्त गर्नेछन् ।














Discussion about this post