इटहरी/ भ्यालेन्टाइन डेको छेको पारेर गायक तथा अभिनेता प्रकाश सपुत निर्देशित ‘वसन्त’को टिजर ‘मिलनको कविता’ सार्वजनिक भएको छ । टिजरमा सपुत र स्वस्तिमा खड्कालाई प्रेमिल भावमा प्रस्तुत गरिएको छ, जसलाई निर्माण टिमले विशेष प्रेम कविता भनेर व्याख्या गरेको छ ।
यसअघि सार्वजनिक गीत ‘साँझ पर्यो झमक्क’ले राम्रो चर्चा कमाइसकेको हुँदा नयाँ टिजरले पनि दर्शकमाझ फिल्मप्रति उत्सुकता थप्ने अपेक्षा गरिएको छ । यो फिल्म आउँदो चैत्र २२ गते चैते दशैंको अवसरमा नेपालभर प्रदर्शन गर्ने तयारी निर्माण टिमले गरेको छ ।
फिल्ममा प्रमुख कलाकार प्रकाश र स्वस्तिमासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरेलगायतको अभिनय रहेको छ । बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको कथा एक विपन्न विश्वकर्मा समुदायको युवकले लेखक बन्न गर्ने संघर्षमा केन्द्रित छ । हेर्नुस् टिजर ।
गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको सोसल ड्रामा फिल्मका कथा, पटकथा र संगीत स्वयं प्रकाश सपुतले तयार पारेका छन् । फिल्मका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ रहेका छन् । यो फिल्मको छायांकन सुसन प्रजापतिले गरेका हुन् भने काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनी ले वितरणको जिम्मा लिएको छ ।














Discussion about this post