इटहरी/ ऊर्जाशील नृत्य र आकर्षक भिजुअलसहित फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भएँ’ सार्वजनिक भएको छ । मङ्गलवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा गीत रिलिज गरिएको हो । सार्वजनीक गीतको भिडियोमा अभिनेता प्रदिप खड्का र अभिनेत्री दिव्या रायमाझीको जोडी दमदार डान्स स्टेपमा प्रस्तुत भएका छन् । यस गीतमा आनन्द अधिकारी र आशिष अविरलको शब्द रहेको छ भने अविरल र अस्मिता अधिकारीको आवाज सुन्न सकिन्छ ।
अविरलकै सङ्गीत रहेको यो गीतको भिडियोलाई कविराज गहतराजको कोरियोग्राफीमा भव्य सेटमा छायाङ्कन गरिएको छ । कृषा चौलागाईं निर्देशित ‘पिताम्बर’मा प्रदिप र दिव्यासँगै सौगात मल्ल, दयाहाङ राई, अनुप विक्रम शाही, सुरक्षा पन्तलगायतका कलाकारको अभिनय छ । यसअघि ‘ऐँचो पैँचो’ निर्देशन गरिसकेकी कृषाले ‘पिताम्बर’ लाई दर्शकले रुचाउनेमा विश्वास व्यक्त गरेकी छन् । हेर्नुस् गीत ।
पुरुषोत्तम प्रधानको छायाङ्कन, प्रदीप भारद्वाजको लेखन र हिमाल केसीको द्वन्द्व निर्देशनमा तयार भएको यो फिल्म आरआर फिल्म्सबाट वितरण हुँदैछ । फिल्मका निर्माता विशाल चौलागाईं हुन् भने सह निर्माता पुरुषोत्तम प्रधान र कार्यकारी निर्माता सुमन गौतम रहेका छन् । अभिनेत्री दिव्या रायमाझीले ‘एक्टर: टेक वन’ बाट डेब्यू गरेकी थिइन् । उनले ‘माया प्रीति’ नामक अर्को फिल्म पनि साइन गरिसकेकी छिन्, जुन हाल प्रि-प्रोडक्सनमा रहेको छ ।














Discussion about this post