इटहरी/ फागुन २९ गतेबाट प्रदर्शन हुने नेपाली फिल्म ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ । फिल्मकी प्रमुख पात्र, महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन सङ्घर्षलाई टिजरले प्रस्तुत गर्छ । घरभित्रको अवरोधबाट बाहिर निस्कन खोज्दै कप्तान बन्ने यात्रासम्मको कथा टिजरमा देखाइएको छ ।
टिजरले “सङ्घर्षशील सपना देख्नेहरूको कथा” भन्दै आफूलाई परिभाषित गर्छ । रेडियोमा बज्ने आवाजले “अन्तर्राष्ट्रिय रूपमा देशलाई प्रतिनिधित्व गर्ने निष्कलङ्क विधा भनेको खेल नै हो” भन्ने सन्देश दिँदै अघि बढ्छ । एञ्जिलाको भूमिकामा उनी आफैँ देखिएकी छन् भने उनका आमाबुबाका भूमिकामा दयाहाङ राई र सृजना सुब्बा छन् ।
टिजरमा एञ्जिलाका पिताले “तेरो फुटबलले मेरो इज्जत गयो” भन्दै असन्तुष्टि जनाउँछन् भने आमाले “मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ” भन्दै प्रेरणा दिन्छिन् । विद्यालयमा उनले “अब फुटबल खेल्दिनँ भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ, मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है” भन्ने संवादले उनको भोगाइ उजागर गर्छ । हेर्नुस् टीजार ।
निर्देशक मिलन चाम्स का अनुसार यो फिल्म एञ्जिलाको वास्तविक कथामा आधारित छ । उनले इच्छाशक्ति भए असम्भव केही छैन भन्ने सन्देश दिन खोजेको बताएका छन् । यो फिल्ममा सुनिल थापा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, मिरुणा मगर लगायतका कलाकारले पनि अभिनय गरेका छन् । निर्माता प्रेम कुमार श्रेष्ठले फिल्ममा प्रमुख भूमिका समेत निभाएका छन् । सह-निर्माताका रूपमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया छन् भने निर्माण नियन्त्रक विनोद सुवेदी खत्री हुन् ।
यस फिल्मको भव्य वर्ल्ड प्रिमियर गत मङ्सिर २३ गते हङकङमा सम्पन्न भइसकेको छ । नेपाल प्रदर्शन अगावै यो फिल्म युके, अमेरिका, अस्ट्रेलिया र जापानमा समेत प्रदर्शन हुँदैछ । हाल निर्देशक चाम्स र निर्माता श्रेष्ठ युके प्रिमियरको तयारीमा छन् । फिल्मको छायाङ्कन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको छ । सिनेम्याटोग्राफर सुदीप बराल हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । फिल्म मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फुटबललाई आधार मानेर नेपाली फिल्ममा यसरी एक खेलाडीको संघर्ष चित्रण गरिएको कमै देखिन्छ । टिजरले दर्शकमा खेलाडी जीवनको चुनौती र सपनाको मूल्य झल्काउने संकेत दिएको छ ।














Discussion about this post