इटहरी/ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर, शब्द, संगीत र र्याप रहेको ‘नेपाल हाँसेको’ बोलको गीत युट्युब ट्रेन्डिङको म्युजिक सेक्सनको पहिलो स्थानमा पुगेको छ । भिडियो युट्युवमा सार्वजनिकको केही घण्टामै ट्रेन्डिङमा प्रवेश गरेको यो गीतको भिडियो यो समाचार तयार गर्दै गर्दा पहिलो स्थान कब्जा गरेको छ । भिडियोले ९ लाख भन्दा बढी भ्युज पाएको छ भने १ लाख ४९ हजार बढी लाईक र १२ हजार सकारात्मक प्रतिक्रिया बटुलेको छ ।
सार्वजनीक गीतमा बालेनको गायनसँगै कोरसमा सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतका स्वर सुन्न सकिन्छ । गीतले विकसित नेपालको परिकल्पना प्रस्तुत गर्दै वर्तमान यथार्थ झल्काएको छ । बालेन मेयर बनेपछि उनले गाएको यो पहिलो सार्वजनिक गीत हो । फिल्म ‘लाज शरणम्’ले यसलाई प्रोमोसनल गीतको रूपमा प्रयोग गरेको छ, जसले फिल्मको हाइप अझै बढाएको छ । यसअघि फिल्मको ‘हेर्दा हेर्दैमा’ बोलको गीत सार्वजनिक भइसकेको छ । हेर्नुस् गीत।
हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको यो फिल्ममा सिताराम कट्टेल ‘धर्मुस’ मुख्य भूमिकामा छन् भने अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय छ । यो फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका हुन् भने जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको यस फिल्ममा नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह तथा सृजना खड्का सह-निर्माताको रूपमा रहेका छन् । ‘लाज शरणम्’ यस वर्षको प्रतिक्षित फिल्ममध्ये एक हो ।














Discussion about this post