इटहरी/ आउँदो महाशिवरात्रिको पूर्वसन्ध्यामा फागुन ९ गते रिलिज हुने फिल्म ‘ताण्डवम्’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कलरिष्ट जुनिम गहतराजको निर्देशनमा बनेको यो फिल्म पारिवारिक र एक्सन थ्रिलर जनरामा निर्माण भएको छ । काठमाण्डौमा सोमबार आयोजित एक कार्यक्रममार्फत २ मिनेट ५ सेकेण्ड लामो ट्रेलर रिलिज गरिएको हो ।
नेपालमा निर्माण भैरहेका पछिल्ला फिल्मभन्दा फरक दृश्यशैलीमा प्रस्तुत गरिएको ट्रेलरले दर्शकलाई उत्सुक बनाउने संकेत देखिन्छ । “त्यो रात के भयो?” भन्ने संवादबाट सुरु भई “भगवान पनि म, अनि राक्षस ?” भन्ने लाइनमा पुगेर टुंगिएको ट्रेलर रहस्य र रोमाञ्चकताको आभास गराउँछ । हेर्नुस् ट्रेलर।
फिल्मका निर्देशक गहतराजले यसअघि सार्वजनिक प्रचार सामग्रीले राम्रो प्रभाव पारेको उल्लेख गर्दै यो ट्रेलरले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, गोपाल कटुवाल लगायत अभिनित फिल्मले एक नव विवाहित जोडीको कथालाई केन्द्रमा राखेको छ, जसले आफ्नो पहिलो सन्तानको आगमनको तयारी गरिरहेका बेला जीवनमा आउने अप्रत्याशित घटनासँग जुध्नुपर्छ ।
सिंहदेवी प्रोडक्सन र भिजुअल आर्ट्स स्टुडियोको सहकार्यमा बनेको फिल्मका निर्माता धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम हुन् । हरि घले लामाको छायांकन रहेको फिल्ममा सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याकग्राउन्ड म्युजिक रहेको छ । कथा, पटकथा तथा संवाद अनिरुद्ध आत्रेय र हुसेनले तयार पारेका छन् ।














Discussion about this post