इटहरी/ नयाँ पुस्ताकी निर्देशक एकता पौडेलले आफ्नो निर्देशन यात्रा सुरु गर्दै फिल्म ‘हर्ष’ निर्माण गर्ने भएकी छन् । अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछानेलाई प्रमुख भूमिकामा प्रस्तुत गर्दै यो फिल्म ई प्राइम मुभिजको ब्यानरमा निर्माण हुन लागेको हो । हाललाई फिल्मका मुख्य कलाकारका रूपमा आँचल र खगेन्द्र मात्र फाइनल भएका छन् ।
फिल्मका लागी अन्य कलाकारहरूको घोषणा केही समयपछि गरिने निर्माण टिमले जनाएको छ । फिल्मका निर्माता प्रशन्न पौडेल र चितवनका विकास पौडेल रहेका छन् भने कार्यकारी निर्माताको जिम्मेवारी चितवनकै हिक्मत चोखलले सम्हाल्नेछन् ।

यो फिल्म ‘हर्ष’को छायाकारको रूपमा आलोक शुक्ला रहनेछन् भने ईश्वर घिमिरे प्रोडक्सन म्यानेजरको भूमिकामा रहनेछन् । ‘हर्ष’ मार्फत निर्देशनमा डेब्यू गर्न लागेकी एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी छन् ।

आमसञ्चारमा स्नातक गरेकी एकताले व्यवस्थापन तथा नेतृत्वमा स्नातकोत्तर गरेकी छन् । यसअघि उनले केही छोटा फिल्महरू समेत निर्देशन गरिसकेकी छन् । निर्देशकको रूपमा पहिलो फिल्म भएकाले ‘हर्ष’मा उनले कस्तो काम गर्छिन् भन्ने कुरा भने हेर्न बाकी नै छ । निर्माण पक्षले फिल्मको विषयवस्तु र छायांकन सुरु हुने मिति भने केही समयपछि सार्वजनिक गर्ने बताएको छ ।














Discussion about this post