इटहरी/ नेपाली फिल्म ‘एक्टर: टेक वन’ अस्ट्रेलियामा फेब्रुअरी २१ बाट प्रदर्शनमा आउने भएको छ । नेपाल र जापानमा प्रदर्शन भइरहेको यो फिल्म अस्ट्रेलियाको विभिन्न सहरमा रिलिज हुन लागेको हो । अस्ट्रेलियाका लागि वितरणको जिम्मा लिएको इस्सा भाइब इभेन्टका राजजङ्ग क्षेत्रीका अनुसार पहिलो शो सिड्नीमा हुनेछ, त्यसपछि क्यानबेरा लगायतका अन्य सहरमा पनि प्रदर्शन गरिनेछ ।
फिल्मको अस्ट्रेलियन वितरणका लागि इस्सा भाइब इभेन्टले पार्टी टाइम नेपाल, सूरज बिष्ट र अजय राजवंशीसँग सहकार्य गरेको छ । क्षेत्रीले केही सहरमा प्रदर्शनको सम्पूर्ण तयारी भइसकेको र केही स्थानका लागि बुकिङ खुला गरिएको जानकारी दिए । टिकट तथा शो सम्बन्धी थप जानकारी इस्सा भाइब इभेन्टको फेसबुक पेजबाट प्राप्त गर्न सकिने छ ।

नेपालमा दोस्रो हप्ता प्रदर्शन भईरहेको ‘एक्टर: टेक वन’ दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्मको क्लाइमेक्सलाई लिएर दस वर्षअघिको ‘लुट’ फिल्मसँग तुलना गरिएको छ भने दर्शकले यसको सिक्वेल ‘टेक टू’ को समेत माग गरिरहेका छन् । निर्देशक राजन भुसालको तारिफ भइरहेको छ भने प्रमुख अभिनेता प्रदीप खड्काले आफूलाई भर्सटाइल अभिनेताका रूपमा पुनः प्रमाणित गरेका छन् ।
नव नायिका दिव्या रायमाझीले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेकी छन् भने १० वर्षपछि ठूलो पर्दामा फर्किएका राजबल्लभ कोइरालालाई पनि रुचाइएको छ । यस्तै, केही वर्षपछि फिल्ममा कमब्याक गरेकी आना शर्माको अभिनयको पनि प्रशंसा भइरहेको छ । फिल्ममा प्रदीप, आना, दिव्या, राजबल्लभका साथै दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौला लगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । फिल्मको कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् । अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो फिल्मका निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह-निर्माता अनीश भुसाल रहेका छन् ।














Discussion about this post