इटहरी/ नेपालको प्रतिष्ठित मोडलिङ प्रतियोगिता ‘मोडल हन्ट नेपाल सिजन ९’को ग्रान्ड फिनाले बाट विवश विष्ट र नेहा बुढा शीर्ष विजेता बनेका छन् । विवशले पुरुष तर्फको उपाधि जित्दा नेहाले महिला तर्फको ताज पहिरिन सफल भइन् । उपाधिसँगै उनीहरू क्याम्बोडियामा आयोजना हुने ‘मिष्टर एण्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२४’मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा भव्यरूपमा आयोजित प्रतियोगितामा ३३ जना महिला र १७ जना पुरुष प्रतिस्पर्धीले दमदार प्रस्तुति दिएका थिए । प्रतियोगितामा आदित्य थपलिया र मोना के.सी. फस्ट रनरअप बने भने एलेन डंगोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भए । टप फाइभमा पुरुष तर्फ मनिश गौतम र प्रसुन कुमार, महिला तर्फ पूजा सिंह राजपूत र रानी खड्का पुग्न सफल भए ।

ग्रान्ड फिनाले बाट प्रतिष्पर्धीहरुलाई विभिन्न अवार्ड समेत दिइएको थियो । जस अन्तर्गत मोस्ट स्टाइलिस अवार्ड मनिश गौतम र जेनिता सेन्चुरी, केएफसी वेष्ट पर्सनालिटी सुजल श्रेष्ठ र डा. अनिमा भण्डारी, रियलमी वेष्ट वाक छेवाङ शेर्पा र पूजा सिंह राजपूत, द वीच हाउस पब्लिक च्वाइस आदित्य कौशल र सारु कार्की (डोली परियार), आर्टेसियम प्रोडक्सन मोस्ट फोटोजेनिक प्रसुन कुमार र अनुजा पौडेल, रिगाल फिटनेस मोडल आयन चौधरी, वेष्ट फिगर: नेहा बुढा, क्यान्टाविल टप मोडल विवश विष्ट र चाँदनी श्रेष्ठ, खल्ती मोष्ट पपुलर कृतिका खड्का र खेमराज पोखरेललाई अवार्ड दिइएको थियो ।
सहभागीहरूले नेपालका चर्चित डिजाइनर स्मृति लम्साल, सिला र कासा को डिजाइनमा सजिएर प्रस्तुत भए भने पुरुष मोडलहरू ब्ल्याकबेरिज् र क्यान्टाविल जस्ता अन्तर्राष्ट्रिय ब्रान्डको पहिरनमा देखिए । अधिकांश सहभागीहरूको यो पहिलो रनवे अनुभव भए तापनि उनीहरूको प्रस्तुति अनुभवी मोडलहरू भन्दा कम थिएन । प्रतियोगिताको उत्कृष्ट १२ महिला र ८ पुरुष प्रतिस्पर्धी डिजाइनर मनिश राईको विशेष पहिरनमा प्रस्तुत भएका थि ए। अन्तिम चरणमा उत्कृष्ट पाँच प्रतिस्पर्धी छनोट गरिएर विजेता घोषणा गरिएको थियो ।
नेक्स्ट मोडल्स नेपालद्वारा आयोजित प्रतियोगिताको निर्देशन रवि धमला र यतना पाण्डेले गरेका थिए भने सुपरमोडल सविता कार्कीको कोरियोग्राफीमा कार्यक्रम सम्पन्न भयो । निर्णायक मण्डलमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र नम्रता श्रेष्ठ, मिष्टर नेपाल २०२५ का विजेता सन्तोष लोक्सम लिम्बु, जोय कस्मेटिक्स नेपाल प्रमुख मदन रौनियार, फेसन कोरियोग्राफर मनिश राई तथा सुपरमोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेल रहेका थिए । करिब तीन घण्टासम्म चलेको यो भव्य प्रतियोगिता फेसन, मोडलिङ तथा ग्ल्यामर क्षेत्रमा नयाँ प्रतिभाहरू स्थापित गर्ने महत्वपूर्ण मञ्च बनेको छ ।














Discussion about this post