इटहरी/ विदेश जाने सपना धेरैले देख्छन्, तर त्यसलाई पूरा गर्न कति संघर्ष गर्नुपर्छ ? यही विषयलाई उठान गर्दै ‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक भएको छ । महाशिवरात्रिको अवसर पारेर आउँदै गरेको फागुन १४ गते रिलिज हुने यो फिल्मको बिहीबार १ मिनेट ४१ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको हो । टिजरले अमेरिका जान चाहने एक युवाको चुनौतीपूर्ण यात्रालाई रोचक ढंगले प्रस्तुत गरेको छ ।
सार्वजनीक टिजरमा संवादहरू दमदार देखिन्छन्, जसले फिल्मलाई थप चर्चामा ल्याउने संकेत गरेको छ । यसअघि सार्वजनिक पोस्टर र गीतहरूले दर्शकको उत्सुकता बढाइरहेको अवस्थामा टिजरले ‘फेरि रेशम फिलिली’ प्रति दर्शकको ध्यान केन्द्रित गरेको छ । यो फिल्मको हालै सार्वजनिक ‘फेरि जालमा’ गीतले छोटो समयमै लोकप्रियता कमाइरहेको छ । टिकटक तथा रील्सहरुमा यो गीतका भिडियो तथा अडियो क्लिपहरु भाईरल भइरहेका छन् । हेर्नुस् टिजर ।
फिल्ममा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको अभिनय रहेको छ । ‘फेरि रेशम फिलिली’मा सिनेमाटोग्राफी सुसन प्रजापतीले गरेका छन् भने, पटकथा निरोज महर्जन र आकाश बरालले लेखेका हुन् । द्वन्द्व निर्देशन नरेश किङ्ग योगीको छ । संगीतमा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्मा रहेका छन् भने सम्पादन सुरेन्द्र पौडेलले गरेका छन् ।
फिल्म सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण गरिएको हो । यो फिल्मको रौनक विक्रम कडेल निर्माता हुन् भने कार्यकारी निर्माता सुरज बम ठकुरी र सह-निर्मातामा एनि थापा छन् । निर्देशन निरोज महर्जनले गरेका छन् भने पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका छन् । फिल्मको वितरण गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछन् । ‘फेरि रेशम फिलिली’ वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एक भएकाले दर्शकले यसलाई कसरी लिन्छन्, त्यो भने फागुन १४ गते थाहा हुनेछ ।














Discussion about this post