इटहरी/ पारिवारिक भावनात्मक कथाले भरिएको फिल्म ‘सारंग’ले दर्शकलाई गहिरो प्रभाव पार्ने संकेत गरेको छ । रिलिजको संघारमा आयोजना गरिएको विशेष प्रिमीयर शोमा फिल्म हेरेका कलाकार, समीक्षक र दर्शकहरूको प्रतिक्रिया भावुक मात्र होइन, प्रेरणादायी पनि देखिएको छ । माघ २५ गतेबाट देशव्यापी प्रदर्शनमा आउने यो फिल्म मंगलबार क्यूएफएक्स, सिभिल मलमा प्रिमीयर गरिएको थियो । जहाँ उपस्थितहरू ‘सारंग’ को कथा, अभिनय र प्रस्तुतीकरणबाट प्रभावित भएका थिए ।
प्रिमीयरपछि अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले ‘सारंग’ लाई सम्पूर्ण दर्शकका लागि आवश्यक फिल्म भन्दै खुलेर प्रशंसा गरिन् । उनले फिल्ममा मनोरञ्जनसँगै गहिरो सन्देश रहेको बताइन् । निर्देशक प्रदीप भट्टराईले फिल्म हेर्दा आफू, श्रीमती र छोरासमेत भावुक बनेको अनुभव सुनाए । यस फिल्मकी कार्यकारी निर्मात्री तथा अभिनेत्री ऋचा शर्माले ‘सारंग’लाई आफ्नो करियरको नयाँ अध्यायको रूपमा लिएकी छिन् । उनले लामो समयपछि पर्दामा फर्किँदै यो फिल्मप्रति ठूलो आशा राखेको बताइन् ।

फिल्म निर्माण गरेका निर्देशक प्रशान्त तामाङले सामाजिक तथा पारिवारिक विषयवस्तुलाई केन्द्रमा राखेर दर्शकलाई मर्मस्पर्शी कथा दिन खोजेको उल्लेख गरे । फिल्मलाई प्रदर्शनपूर्व लबिम मल, धरानलगायतका स्थानहरूमा देखाइएको थियो । जहाँ दर्शकहरूको प्रतिक्रिया अत्यन्त उत्साहजनक रह्यो । फिल्ममा प्रस्तुत गरिएका पारिवारिक सम्बन्ध, सहरिया जीवनको चुनौती र बालबालिकाको मनोवैज्ञानिक संवेदनशीलतालाई दर्शकले मन पराएका छन् ।

‘सारंग’मा ऋचा शर्मासँगै उत्पल झा, समीर मणि दीक्षित, सुरज तमु, मणि के. राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, बिश्व स्याङ्बो, दीपिका थापा, सुमन सागर जंग केसी, प्रभात श्रेष्ठ तथा बाल कलाकार आदित्य कार्की र सम्राट थापाले अभिनय गरेका छन् । दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता प्रेम तामाङ र फूलमाया तामाङ हुन् भने सहनिर्मातामा पुष्पा लिम्बू र बिनु गुरुङ छन् । फिल्ममा शंकर थापा ‘स्माइल’ र नकुल कार्कीको संगीत, डिपी खनालको गीत, सुष्मा राईको कोरियोग्राफी तथा गोपाल रायको छायांकन रहेको छ । मित्र डी. गुरुङले सम्पादन गरेको फिल्मलाई स्टेशन ५ ले देशभर प्रदर्शन गर्दैछ ।














Discussion about this post