इटहरी/ फ्यामिली हरर जनरामा निर्माण भएको फिल्म ‘ममी’ भोली (माघ २५, शुक्रबार) देखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनअघि बुधबार साँझ क्यूएफएक्स सिभिल मलमा फिल्मको रेड कार्पेट प्रिमियर शो आयोजना गरियो, जहाँ सेलिब्रिटीको बाक्लो उपस्थिति रह्यो । प्रियंका कार्की, दीया मास्के र सुलक्षण भारती स्टारर यस फिल्मको प्रिमियरमा कलाकार तथा निर्माण टिमका सदस्यहरू उपस्थित थिए ।
प्रिमियरमा अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, निर्देशक ज्ञानेन्द्र देउजा, निर्माता छविराज ओझा, अभिनेत्री केकी अधिकारी, अभिनेता सलिनमान बनियाँ, सलोन बस्नेत, पूर्वमिस नेपाल तथा अभिनेत्री नम्रता श्रेष्ठ र जेनिशा मोक्तान जस्ता सेलिब्रेटी हरुले फिल्मलाई साथ दिए । फिल्मको प्रिमियरमा फरक माहोल देखियो । किशोरीहरूले आकाशे नीलो रंगको रगत लतपतिएको पहिरनमा विशेष प्रस्तुति दिए ।

अभिनेत्री दीया मास्के पोतेसहित सेतो-कालो पहिरनमा सजिएकी थिइन् भने प्रियंका कार्की कालो स्लिभलेस पहिरनमा उपस्थित भइन् । प्रियंका आफ्नी आमासँगै प्रिमियरमा आएकी थिइन् । प्रिमियरपछि प्रतिक्रिया दिँदै दीपाश्री निरौलाले ‘ममी’ उत्कृष्ट बनेको बताइन् । उनले धेरैपछि राम्रो हरर फिल्म हेर्ने अवसर पाएको अनुभव सुनाइन् र दर्शकलाई ढुक्क भएर हेर्न आग्रह गरिन् ।

अभिनेत्री केकी अधिकारीले नयाँ निर्माता-निर्देशकलाई स्वागत गर्नुपर्ने बताइन् । अभिनेता सलोन बस्नेत र सलिनमान बनियाँ दुवैले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । अभिनेत्री नम्रता श्रेष्ठले ‘ममी’ले तर्साउनुका साथै समाजलाई सचेत गराउने खालको कथा पस्किएको बताइन् । समर निरौलाको निर्देशनमा बनेको यो फिल्म सो ट्वान्टी फाइभको प्रस्तुति हो । समरले पूर्णिमा जोशीसँग मिलेर कथा लेखेका हुन् ।

फिल्मका निर्माता लोक राज जोशी र पूर्णिमा जोशी हुन् भने कार्यकारी निर्माता सुमन कोइराला रहेका छन् । फिल्मको छायांकन निशाल पौडेल र शरद महतोले गरेका हुन् । सम्पादन सुरेन महर्जन, पाश्र्व संगीत रोहित शाक्य, साउन्ड डिजाइन श्रवल आरपी, द्वन्द्व निर्देशन एनबी महर्जन, रंग संयोजन दिपेश चौधरी तथा संगीत एसडी योगीले गरेका छन् । फिल्मलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गर्दैछन् ।














Discussion about this post