इटहरी/ समाजमा जरा गाडेर बसेको कुप्रथा र हिंसाको कथालाई उजागर गर्दै फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ । बाल विवाह र महिला हिंसाविरुद्ध जनचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको यो फिल्म आगामी माघ २५ गते प्रदर्शनमा आउँदैछ । काठमाण्डौमा आयोजित विशेष समारोहमा सार्वजनिक गरिएको ट्रेलरले दर्शकहरूको ध्यान खिच्न सफल हुने अपेक्षा गरिएको छ ।
फिल्ममा बालिका अस्मिता ढकालको जीवनलाई केन्द्रमा राखेर बाल विवाहपछि उनको जीवनमा आइपर्ने पीडा, सामाजिक अन्याय र असमान व्यवहारलाई मर्मस्पर्शी ढंगले देखाइएको छ । ट्रेलरको सुरूवातमा बालविवाहको परम्परागत दृश्य प्रस्तुत गरिएको छ, जसले विवाहपछिको कठिन यात्रा र समाजले थोपर्ने कुदृष्टिलाई उजागर गर्दछ । हेर्नुस् ट्रेलर ।
निर्माता दीपकप्रसाद घिमिरेले यो फिल्म केवल मनोरञ्जनका लागि मात्रै नभई समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरित हुने बताए । “हामीले नेपाली समाजका भोगाइ र यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेका छौं, जसले दर्शकको मन छोला भन्ने आशा छ” उनले भने । निर्देशक जीवन सेञ्चुरीले यो फिल्म महिला हिंसा, अनमेल विवाह, बलात्कारजस्ता समस्याहरूको समाधान खोज्ने माध्यम बन्ने विश्वास व्यक्त गरे ।
फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत र कमल बोहोरा लगायतको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको यो फिल्मको कथा राजबहादुर सानेले लेखेका हुन् । संगीत बीबी अनुरागी र रमेश सेञ्चुरीले तयार पारेका छन् भने अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीले स्वर दिएका छन् । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।












Discussion about this post