इटहरी/ नेपाली फिल्ममा नयाँ स्वाद खोजिरहेका दर्शकका लागि फिल्म ‘मिसिङः केटी हराएको सूचना’ भोलि शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । ललितपुरमा गरिएको प्रिमियर शोमा सहभागी फिल्मकर्मी र कलाकारहरूको प्रशंसा बटुल्दै फिल्मले नयाँ जनराको पहिचान दिलाउने विश्वास दिलाएको छ । बुधबार साँझ ललितपुरको लबिम मलमा आयोजित प्रिमियर शोले कलाकार, निर्देशक र प्राविधिक टोलीको मेहनतलाई थप उजागर गर्यो ।
फिल्ममा मुख्य भूमिका निर्वाह गरेका नाजिर हुसेन र सृष्टि श्रेष्ठसँगै मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, मिरुना मगर, दिया मास्के, निश्चल बस्नेतलगायत चर्चित कलाकार प्रिमियरमा सहभागी थिए । उनीहरूले फिल्मको कथावस्तु, प्रस्तुत शैली र निर्देशनको खुलेर तारिफ गरे । अभिनेत्री प्रियंका कार्कीले फिल्मलाई मुख्यधारका फिल्मभन्दा फरक अनुभव भएको बताइन् भने आयुष्मान देशराज जोशीले फिल्मले जनराको विविधता प्रस्तुत गरेको उल्लेख गरे ।

यस्तै अभिनेत्री स्वस्तिमा खड्काले फिल्मले फ्रेस कथा र फरक जनरा पस्केको भन्दै खुसी व्यक्त गरिन् । मिरुना मगरले सृष्टि श्रेष्ठको अभिनय देखेर गर्व लागेको बताइन् भने निर्देशक निश्चल बस्नेतले निर्देशक दीपेन्द्र गौचनले कथावस्तुलाई फरक तरिकाले भनेको र आफ्नो पुरानो इच्छा पूरा भएको बताए । निर्माता रवीन्द्रसिंह बानियाँले फिल्मले मधेश प्रदेशको विषयवस्तु र पर्यटनलाई सम्बोधन गरेको भन्दै प्रशंसा गरे । दीपेन्द्र गौचनको लेखन तथा निर्देशन रहेको यो फिल्म ट्राई सिटी पिक्चर्सको प्रस्तुति हो ।

फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुरलगायतको अभिनय छ । विशेष भूमिकामा अमितेष शाह देखिन्छन् । फिल्ममा प्रवेश मल्लिक, करुण थापा र दीपेन्द्र गौचनको संगीत, रामजी लामिछाने र राजीव कर्णको कोरियोग्राफी, अमर महर्जनको छायांकन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । यस फिल्मलाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । फरक जनरा र आकर्षक कथावस्तुका कारण ‘मिसिङः केटी हराएको सूचना’ ले नेपाली सिनेमामा नयाँ प्रभाव पार्ने अपेक्षा गरिएको छ ।















Discussion about this post