इटहरी/ पौष २७ गते शनिबार सार्वजनिक भएको फिल्म ‘वसन्त’को गीत ‘साँझ पर्यो झमक्क’ युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा पुगेको छ । यो गीतले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गर्दै हालसम्म २६ लाखभन्दा बढी भ्यूज सँगै ९५ हजार लाइक्स र ४ हजार भन्दा बढी प्रतिक्रियाहरू प्राप्त गरेको छ । गीतले युट्युबको म्युजिक ट्रेन्डिङ सेक्सनको पहिलो नम्बर कब्जा गर्दै मुख्य ट्रेन्डिङ सेक्सनमा समेत १० औं स्थानमा उक्लिएको छ ।
सर्ट्स भिडियोको लामो समयदेखिको अधिपत्यलाई तोड्दै मुख्य ट्रेन्डिङमा प्रवेश गरेको यो गीतले व्यापक चर्चा बटुलेको छ । गीतका लोकेसन, कोरियोग्राफी, गायन र मुख्य कलाकार प्रकाश सपुत र स्वस्तिमा खड्काको अभिनयको खुलेर प्रशंसा गरिएको छ । हेर्नुस् भिडियो ।
गायक, अभिनेता तथा निर्देशक प्रकाश सपुतको शब्द रचना र संगीतमा तयार पारेको यस गीतमा उनलाई चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् । ‘वसन्त’ प्रकाश सपुतको लेखन र निर्देशनमा तयार भएको फिल्म हो । यसमा स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, र प्रकाश घिमिरेजस्ता कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ ।
फिल्मले विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र त्यसलाई पूरा गर्न उसले गरेको संघर्षको कथा प्रस्तुत गर्दछ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको यस फिल्मको कथा, पटकथा र संगीत पनि स्वयं प्रकाश सपुतकै रहेको छ । फिल्मका निर्माताहरूमा मोहन विश्वकर्मा र बिन्दु बोहोरा छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । छायांकन सुसन प्रजापतिले गरेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले सिनेमाको वितरण गर्नेछन् ।












Discussion about this post