इटहरी/ आगामी फागुन १४ गते महाशिवरात्रीको अवसर पारेर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘फेरि रेशम फिलिली’ को पहिलो गीत ‘ग्रीन कार्डैमा’ सार्वजनिक भएको छ । माघे संक्रान्तिको विशेष दिनलाई अवसर पारेर मंगलबार रिलिज गरिएको यो गीतले ‘रेशम फिलिली’ को सफलताको झल्को दिने प्रयास गरेको छ । दीपक शर्माको शब्द र संगीतमा तयार गीतमा डेविट शंकरको स्वर सुन्न सकिन्छ ।
भिडियोमा मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टका साथमा अन्य कलाकारहरु पनि फिचर्ड भएका छन् । २०७२ सालमा रिलिज भएको फिल्म ‘रेशम फिलिली’ले ‘पारी त्यो डाँडा’ गीतमार्फत दर्शकमाझ अपार सफलता पाएको थियो । निर्माण टिमको विश्वास छ, ‘फेरि रेशम फिलिली’ को ‘ग्रीन कार्डैमा’ गीतले पनि सोही सफलता दोहोर्याउनेछ । निरोज महर्जनको लेखन र निर्देशनमा बनेको यो फिल्म सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको हो । हेर्नुस् गीत ।
निर्माता रौनक विक्रम कडेल, कार्यकारी निर्माता सुरज विक्रम ठकुरी र सह-निर्माता एनि थापाको लगानीमा बनेको फिल्मले पुरानो कथालाई नयाँ शैलीमा प्रस्तुत गर्नेछ । यो फिल्ममा विनय र सुपुष्पाका अलावा नीर शाह, कामेश्वर चौरासिया, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल र सजन थापा लगायतले अभिनय गरेका छन् ।
‘रेशम फिलिली’का निर्देशक प्रनव जोशी र अभिनेत्री मेनुका प्रधान बाहेक बाँकी टिम प्रायः उही रहेकोले यो फिल्म दर्शकमा पुरानै भावनालाई जगाउने विश्वास गरिएको छ । सुसन प्रजापतीको छायांकन, निर्देशक निरोज महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत यो फिल्ममा रहेको छ ।












Discussion about this post