इटहरी/ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुने प्रतिक्षित नेपाली फिल्म ‘लाज शरणम्’ले दर्शक र प्रशंसकलाई सहभागी गराउन ‘स्टार स्किम अवसर’ शीर्षकमा अनौठो योजना सार्वजनिक गरेको छ । निर्माण टिमले फिल्मका शिर्षकमा आधारित भिडियो प्रतियोगिताको घोषणा गर्दै विभिन्न विधामा सिर्जनात्मक भिडियो पठाउन आह्वान गरेको हो ।
प्रतियोगितामा सहभागी हुन चाहनेले लोकपप, आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर वा भाषण कलामध्ये कुनै पनि विधा रोजेर अधिकतम दुई मिनेटको भिडियो तयार गर्नुपर्नेछ । तयार पारिएका भिडियोहरू ‘लाज शरणम्’को इमेल laajsharanammoviefalgun14@gmail.com मा पठाउन सकिनेछ । टिमले प्राप्त भिडियोहरू फिल्मको आधिकारिक टिकटक अकाउन्टमा अपलोड गर्नेछ, जसमा भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरिनेछ ।
विजेताले आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता माघ १ गतेदेखि १५ गतेसम्म खुला रहने जानकारी दिइएको छ । निर्माण टिमका अनुसार, यो योजना दर्शकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै फिल्मको प्रचारप्रसारलाई नयाँ आयाम दिनका लागि ल्याइएको हो । केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत कथाको झलक प्रस्तुत गर्दै चर्चा पाएको ‘लाज शरणम्’ले अब टिजर र ट्रेलरलाई प्रतिक्षित बनाएको छ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को निर्देशनमा तयार भएको यो फिल्ममा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, माला लिम्बुलगायतका कलाकारको प्रमुख भूमिका रहेको छ । ‘लाज शरणम्’मा चर्चित टेलिसिरियल ‘सक्किगोनि’ टिमका अधिकांश कलाकारले अभिनय गरेका छन् । जेपिटी क्रियसनको ब्यानरमा निर्मित यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने सह-निर्माताको रूपमा राम नरेश शाह र सृजना खड्काले साथ दिएका छन् । फिल्मको छायांकन सुदीप बरालले गरेका हुन् ।












Discussion about this post