इटहरी/ फिल्म ‘महाराजधिराज’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ, जुन पोष्टरले दर्शकहरूको ध्यान तान्न सफल भएको छ । माघे संक्रान्तिको विशेष अवसर पारेर सार्वजनिक गरिएको पोस्टरमा दुई प्रमुख पात्रलाई देखाइएको छ । विशेष कुरा के छ भने, यी दुवै भूमिकामा अभिनेता पल शाह प्रस्तुत भएका छन् । पोस्टरमा एकजना राजर्षी पहिरनमा श्रीपेच र राजदण्डका साथ उभिएका छन् भने अर्को व्यक्ति नग्न अवस्थामा कमजोर र निरीह देखिएका छन् ।
पोष्टरमा फिचर्ड भएका कलाकार हुन अभिनेता पल शाह । उनको यस्तो अवस्थाले धेरै चकित पनि भएको बुझ्न सकिन्छ । अब उनी किन नाङ्गिए भन्ने बुझ्नलाई त फिल्म प्रदर्शन पर्खिनै पर्ने देखिन्छ । यो चित्रणले दर्शकहरूलाई गहिरो सन्देश दिने उद्देश्य बोकेको प्रतीत हुन्छ । दरसन्तानको सम्झनामा बनाइएको चित्रजस्तो देखिने यो दृश्यले दर्शकलाई व्यक्तिवादी सोचका कारण उत्पन्न समस्याप्रति सोच्न बाध्य पार्छ ।

फिल्मको स्लोगन ‘अनेकौं समस्या म देख्छु जगतमा, छ कि दोष हाम्रो आफ्नै रगतमा’ ले व्यक्ति स्वयं नै समस्या र समाधानको कारण भएको संकेत गर्दछ । चाहे राजा होस् वा नागरिक, हरेक व्यक्तिमा केही न केही कमी रहेको विचार यसले प्रकट गर्छ । छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.को प्रस्तुति रहेको फिल्ममा निर्देशक परिच्छेद सेनले निर्देशन गर्नेछन् भने फिल्मको कथा पनि उनैले लेखेका हुन् ।
निर्माण पक्षले पोस्टरमार्फत दर्शकमा उत्सुकता बढाउँदै आगामी ट्रेलरमा थप जानकारी दिने बताएको छ । प्रस्तुतकर्ता विराज बिष्टले यसअघि फिल्म ‘बुलाकी’ निर्माण गरेका थिए भने निर्देशक सेनको ‘प्रेमगञ्ज’ले पनि राम्रो चर्चा पाएको थियो । फिल्मका निर्मातामा टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवी खड्का रहेका छन् । दशैँको फूलपातीमा प्रदर्शन हुने लक्ष्य राखिएको यो फिल्मले नेपाली समाजका यथार्थ समस्यालाई पर्दामा उतार्ने अपेक्षा गरिएको छ ।












Discussion about this post