इटहरी/ आगामी फागुन १४ गते शिवरात्रिको अवसरमा प्रदर्शन हुने नेपाली फिल्म ‘लाज शरणम्’को अन्तर्राष्ट्रिय वितरण अधिकार (इन्टरनेशनल राइट्स) बिक्री भएको छ । चर्चित सिरियल ‘सक्किगो नि’को टिमद्वारा निर्माण गरिएको यो फिल्म सेभेन सिज इन्टरनेसनलले भारत बाहेकका अन्य देशहरूको वितरण अधिकार खरिद गरेको हो ।
मंगलबार निर्माण कम्पनी जेपिटी क्रिएसनका अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका प्याट्रिक सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सेभेन सिज इन्टरनेसनलले यो फिल्मलाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन गर्ने योजना बनाएको छ ।
वितरक प्याट्रिक सुवेदीका अनुसार फिल्म फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशहरूमा प्रदर्शन हुनेछ । कुन देशमा प्रदर्शन हुने भन्ने विस्तृत जानकारी भने चाँडै सार्वजनिक गरिनेछ । नेपालभित्र भने फिल्मको वितरणको जिम्मा ब्यांकटेस इन्टरटेनमेन्टले लिएको छ ।

कुमार कट्टेल ‘जिग्री ब्रो’द्वारा निर्देशित यो फिल्म चर्चित सिरियल ‘सक्किगो नि’ टिमको विशेष प्रयासमा बनेको हो । फिल्ममा विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा लगायतका कलाकारले अभिनय गरेका छन् । साथै ‘सक्किगो नि’ सिरियलका अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियना आचार्य (मुन्नी), र कमलमणी नेपाल (खुपीका बाउ) पनि देखिनेछन् ।
फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र श्रीजना खड्का सह-निर्माताका रूपमा रहेका छन् । सुदीप बरालले फिल्म छायांकनको जिम्मा लिएका छन् । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको प्रचार-प्रसार पनि तीव्र बनाइएको छ । कथावस्तु, निर्देशन र प्रस्तुतिकरणका कारण ‘लाज शरणम्’ नेपाली फिल्म उद्योगको महत्त्वपूर्ण हिस्सा बन्नसक्ने निर्माण युनिटको विश्वास छ ।












Discussion about this post