इटहरी/ नेपाल ग्रामीण चलचित्र महोत्सव (NERUFF) को चौथो संस्करण आगामी वैशाखमा आयोजना हुने भएको छ । यस महोत्सवले नेपाली चलचित्रलाई ग्रामीण क्षेत्रमा पुर्याउने र पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । सेलिब्रेटी नेपालको आयोजनामा हुन लागेको यस कार्यक्रमको अध्यक्ष रघुनाथ सापकोटाले यसको पुष्टि गरेका छन् । सापकोटाका अनुसार महोत्सवमा ग्रामीण कथावस्तुमा आधारित नेपाली चलचित्रहरू समेटिनेछन् । डकुमेन्ट्री, शर्ट फिल्म, फिचर फिल्म, र भाषाभाषी चलचित्रहरू समावेश गरिने यो महोत्सवका लागि चलचित्र दर्ता प्रक्रिया सुरू भइसकेको छ ।
“आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र” भन्ने मूल नाराका साथ आयोजना हुने यस महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका चलचित्रहरूको विशेष प्रदर्शन हुनेछ । छनोटमा परेका चलचित्रहरू अत्याधुनिक प्रविधिमार्फत प्रदर्शन गरिनेछ भने उत्कृष्ट फिल्महरूलाई अवार्ड प्रदान गरिनेछ । यो महोत्सव विगत तीन संस्करणसम्म नेपाली मौलिक ग्रामीण विषयवस्तुमा आधारित फिल्महरूलाई प्रस्तुत गर्दै आएको छ । पहिलो संस्करण गोरखाको लाप्राकमा, दोस्रो काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेस्रो संस्करण रामेछापमा सम्पन्न भएको थियो ।
महत्वपूर्ण पक्षका रूपमा महोत्सवले फिल्म स्क्रिनिङसँगै अन्तरक्रिया कार्यक्रम, कार्यशाला गोष्ठी र ग्रामीण कथामा आधारित फिल्म निर्माणका सम्भावनाबारे छलफल गर्ने योजना बनाएको छ । यसले दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउँदै ग्रामीण कथामा बनेका चलचित्रलाई विश्वमाझ पुर्याउने उद्देश्य राखेको छ । सापकोटाका अनुसार, चलचित्र विकास बोर्डको पनि यस महोत्सवमा सहकार्य रहने छ । साथै, स्थानीय क्षेत्रको भाषा, संस्कृति, कला, र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने महोत्सवको अर्को मुख्य उद्देश्य रहेको छ ।












Discussion about this post