इटहरी/ म्युजिकल सर्ट फिल्म ‘महाकाली’ सार्वजनिक भएको छ । जसमा नव्याश्रीको लेखन तथा निर्माण रहेको छ । यो कथा देवी महाकालीको उत्पत्तिबाट प्रेरित छ । लेखक तथा निर्मात्री नव्याश्रीको अभिनयप्रतिको लगाव बाल्यकालदेखि नै थियो । उनी भारतको दार्जीलिङकी स्थायी बासिन्दा हुन् र १४ वर्षकै उमेरमा ‘प्लानेट मिस इण्डिया वर्ल्ड २०१८’ को उपाधि पनि जितिसकेकी छन् । सार्वजनिक म्युजिकल सर्ट फिल्मको उनी लेखक तथा निर्मात्रीसंगै प्रमुख कलाकार समेत हुन् ।
यो म्युजिकल सर्ट फिल्मको कथामा शिवले पार्वतीलाई एक राक्षसलाई पराजित गर्न आह्वान गर्छन्, जसलाई महिलाले मात्र पराजित गर्न सक्छ । पार्वती, शिवसँग विलय भई कालीको रूप लिन्छिन् र राक्षसलाई समाप्त गर्छिन् । तथापि, उनको क्रोध र रक्तपात नियन्त्रण बाहिर जान्छ, जसलाई रोक्न शिवलाई मात्र सक्ने हुन्छ । कालीलाई बलियो आमा व्यक्तित्व र मातृ प्रेमको प्रतीक मानिएको छ । उनी स्त्री शक्ति, सृजनशीलता, र उर्वरताको प्रतीक हुन् । हेर्नुस् सार्वजनिक म्युजिकल सर्ट फिल्म ।
फिल्ममा नव्याश्रीले काली र पार्वती दुबैको भूमिका निर्वाह गरेकी छिन् भने लोमश शर्मा शिवको भूमिकामा देखिएका छन् । यसमा राजकुमार थापा, प्रकाश कँडेल लगायतका कलाकारहरुको उत्कृष्ट अभिनय रहेको छ । यो म्युजिकल सर्ट फिल्ममा समावेश गीतमा एलिना चौहान, श्रीधर अधिकारी, मदन केसी र सुलभ घिमिरेको गायन समावेश गरिएको छ भने श्रीधरको संगीत रहेको छ ।
यस्तै सुरेश पाण्डेको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, मदन कश्यप घिमिरेको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादनमा यो म्युजिकल सर्ट फिल्म तयार भएको हो । यो सर्ट फिल्मले कुनै पनि धर्म, जात, परम्परा वा समुदायप्रति लक्षित नभएको र कुनै व्यक्तिलाई ठेस नपुर्याउने उद्देश्य राखेको नव्याश्रीले बताईन् । म्युजिकल सर्ट फिल्म ‘महाकाली’लाई ‘ओएसआर डिजिटल’को युट्युब च्यानलबाट मंग्लबार सार्वजनिक भएको हो ।
Discussion about this post