इटहरी/ सन् २०२५ मा हुन लागेको ९७औँ एकेडेमी अवार्डमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने फिल्मको रूपमा ‘शाम्बाला’ चयन भएको छ । द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (अस्कर) ले प्रदान गर्ने यो प्रतिष्ठित अवार्डमा ‘शाम्बाला’ फिल्मले नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको हो ।
अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिका अध्यक्ष राजु खत्री क्षेत्रीले जारी गरेको प्रेस विज्ञप्तिमा फिल्म ‘शाम्बाला’लाई यस पटकको अस्करमा नेपालको आधिकारिक प्रवेशको रूपमा मान्यता दिइएको उल्लेख गरिएको छ । समितिका अनुसार यस वर्ष अस्कर प्रतिस्पर्धाका लागि प्राप्त एक मात्र आवेदन ‘शाम्बाला’ नै भएकोले पनि यो फिल्म छनोट भएको हो ।
फिल्मले अस्करका आवश्यक मापदण्डहरू पुरा गरेपछि यसको छनोट गरिएको हो । फिल्मको कथा, पात्रहरूको मनोवैज्ञानिक चित्रण र प्रविधिको प्रयोगले यो फिल्मलाई असाधारण बनाउन महत्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ । नेपाली फिल्ममा यसको विशिष्ट योगदान रहने अपेक्षा गरिएको छ ।
Discussion about this post