इटहरी/ सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा चर्चित चलचित्र निर्देशक तथा संचारकर्मी दिनेश डिसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई बोर्डको अध्यक्ष पदमा चयन गरेको हो । अभिनेता भुवन केसीको कार्यकाल सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त थियो । जसका लागी डिसी सहित निर्माता तथा पूर्वबोर्ड सदस्य अर्जुनकुमार, अभिनेत्री करिश्मा मानन्धर, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन, फिल्म निर्देशक नरेश पौडेल र सांस्कृतिक संस्थानका पूर्वअध्यक्ष राजेश थापा बोर्डको अध्यक्ष बन्ने दौडमा थिए ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आजको बैठकपछि डिसीको नियुक्ति बारेमा जानकारी गराउँदै चलचित्र क्षेत्रको विकास र सशक्तिकरणका लागि सरकारको यो निर्णय महत्त्वपूर्ण रहेको बताएका छन् । इलाममा जन्मिएका दिनेश डिसीले आफ्नो करियरको सुरुवात रेडियो र टेलिभिजन कार्यक्रम प्रस्तोताका रूपमा गरेका थिए । उनले टेलिभिजन क्षेत्रमा धेरै चर्चित कार्यक्रमहरू सञ्चालन गरेका छन् । त्यसपछि, चलचित्र निर्देशनतर्फ आफ्नो करियरलाई मोड्दै उनले धेरै नेपाली चलचित्र निर्देशन गरेका छन् ।
डिसी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत भइसकेका छन् । चलचित्र क्षेत्रको समस्याबारे उनी सधैं सजग रहँदै आएका छन्, जसले गर्दा चलचित्र विकास बोर्डको अध्यक्षको भूमिकामा उनले चलचित्र क्षेत्रलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । सरकारको यस निर्णयले चलचित्र क्षेत्रका पेशाकर्मीहरूले नयाँ सम्भावना र अवसरको खोजी गर्न प्रेरित हुने विश्वास गरिएको छ । नयाँ नेतृत्वले नेपाली चलचित्र उद्योगमा आवश्यक सुधार र नवप्रवर्तन ल्याउन सक्ने सम्भावना रहेको छ । बोर्डका नवनियुक्त अध्यक्ष डिसीलाई परिकला न्युज डटकमको तर्फबाट पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
Discussion about this post