इटहरी/ फिल्म ‘वर एण्ड वधु’ सार्वजनिक प्रदर्शनको संघारमै आईपुग्दा काठमाडौंको लबिम मलमा बुधबार साँझ एक विशेष प्रिमियर शो आयोजना गरियो । भदौ १४ गते अर्थात यहि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको प्रिमियर कार्यक्रमलाई ‘रेड कार्पेट मिरर वाक’को नाम दिइएको छ । जुन नेपालमा पहिलोपटक आयोजना गरिएको हो । प्रिमियरमा चर्चित राजनीतिक, सांस्कृतिक र चलचित्र क्षेत्रका थुप्रै हस्तीहरूको उपस्थिति रहेको थियो ।
प्रिमियर कार्यक्रमको प्रमुख अतिथिको रूपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन रहेका थिए । यस्तै वरिष्ठ हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, निर्देशक मिलन चाम्स, दीपाश्री निरौला, नायिका मिरुना मगर, तथा नव-अभिनेता विवेक कर्माचार्य सहित चलचित्रका अन्य कलाकारहरूको समेत सहभागिता थियो । कार्यक्रमलाई विशेष बनाउन निर्देशक मिलन चाम्सले कुनै कमी राखेनन् ।
चलचित्रको उत्कृष्ट प्राविधिक पक्ष र रोचक कथावस्तुले सहभागीहरूलाई मन्त्रमुग्ध बनायो । राप्रपाका अध्यक्ष लिङ्देनले चलचित्रलाई उत्कृष्ट भनेका छन् भने महजोडीले चलचित्रका दृश्य, संवाद र कलाकारहरूको अभिनयलाई खुलेरै प्रशंसा गरेका छन् । नव-अभिनेता विवेक कर्माचार्यको कामलाई समेत उपस्थित धेरैले प्रशंसा गरेका छन् । यो प्रिमियर शोले चलचित्रप्रतिको अपेक्षालाई अझ बढाएको छ र शुक्रबारबाट यसले दर्शकको मन जित्न सफल हुने विश्वास गरिएको छ ।
Discussion about this post