इटहरी/ निर्देशक दिवाकर भट्टराईको आगामी फिल्म ‘नरसिंहाः अवतार’को लागि कलाकारहरूको लाइनअप पुरा हुने क्रममा छ । एक्सन र सोसल ड्रामा समेटिएको यस फिल्ममा अब अभिनेता प्रशान्त ताम्राकार पनि समावेश भएका छन् । निर्माण पक्ष र ताम्राकारबीच मंगलबार लिखित सम्झौतामा हस्ताक्षर भएको छ । यस फिल्ममा ताम्राकारको भूमिकाबारे विस्तृत जानकारी भने खुलाइएको छैन, तर निर्देशक भट्टराईले ताम्राकारलाई शीर्ष भूमिकामध्ये एकमा अनुबन्धित गरिएको जनाएका छन् । यसअघि भट्टराई र ताम्राकारले ‘ऐश्वर्या’ र ‘मायावी’ जस्ता चर्चित फिल्महरूमा सहकार्य गरेका थिए ।
फिल्मको अन्य कलाकारहरूको नाम पनि सार्वजनिक भइसकेको छ । महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई र दीपा शाही यस फिल्ममा समावेश भएका छन् । फिल्ममा कुन कलाकारको कस्तो भूमिका रहेको छ भन्ने बारेमा भने अझै सार्वजनिक गरिएको छैन । यो फिल्मबाट आठ वर्षपछि महानायक हमालको कमाब्याक हुने भएपछी नेपाली फिल्मवृतमा उत्साह थपिएको छ ।
साथै, ‘नरसिंहाः अवतार’मा सरोज खनाललाई क्याप्टेनको भूमिकामा देख्न पाइनेछ । महानायक हमाल र सरोज खनाल ३० वर्षपछि एउटै फिल्ममा सँगै अभिनय गर्नेछन् । सन् १९९४ मा रिलिज भएको ‘सडक’पछि यी दुई सँगै काम गरेका थिएनन् । फिल्म ‘नरसिंहाः अवतार’ भदौको अन्तिम साता देखि छायांकनमा जानको लागि तयारीमा छ । यस फिल्मको बजेट तीन करोडभन्दा माथि हुने अनुमान गरिएको छ । निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ पनि प्रदर्शनको तयारीमा छ । त्यसको प्रदर्शन मिति केही दिनमै तय गरिने बताईएको छ । यो फिल्म ‘क्रिएटिभ सिने आर्ट’को प्रस्तुतिमा निर्माण गरिने छ ।
Discussion about this post