इटहरी/ फिल्म ‘कंगारु’मा अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा अनुबन्धित भएकी छन्। निर्माण पक्षले स्वस्तिमासँग सोमबार औपचारिक सम्झौता गरेको हो। सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने यो फिल्मका लागि यसअघि नै केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल र अर्पण थापालाई अनुबन्ध गरिसकिएको थियो। राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुँदै गरेको फिल्ममा स्वस्तिमाको प्रवेशले कलाकारहरूको सूची अझ बलियो बनाएको छ।
सम्झौतापछि स्वस्तिमाले यो प्रोजेक्टमा काम गर्न पाउँदा अत्यन्त उत्साहित भएको प्रतिक्रिया दिएकी छिन्। निर्देशक बस्नेतले ‘कंगारु’लाई सस्पेन्स, थ्रिलर र कमेडी जनरामा निर्माण गर्न लागेको जानकारी दिए। अभिनेत्रीको चयनसँगै अब केही महिनामा फिल्मको छायांकन सुरु हुने बताईएको छ । फिल्मको छायांकन ३५ दिनसम्म अष्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरा लगायतका स्थानहरूमा गरिनेछ। निर्देशक बस्नेतले दुई वर्षको मेहनतपछि तयार पारिएको स्क्रिप्टमा विशेष कथा प्रस्तुत गर्न लागिएको र दर्शकलाई फरक स्वादको अनुभव दिलाउन खोजिएको बताए।
यो फिल्म फुलमुन मोसन पिक्चर्स, उत्तरगया म्युजिक एन्ड फिल्म र एसजिटि प्रोडक्सन प्रालीको सहकार्यमा निर्माण हुँदैछ। प्रेम थापा, धन बहादुर गुरुङ ‘डिबी’, मनोज भण्डारी ‘म्यक्स’ निर्माता रहेका छन् भने अन्जन दुरा र लक्ष्मी राई सह-निर्माताको भूमिकामा छन्। कार्यकारी निर्माता टीका भण्डारी हुन्। फिल्मको छायांकन सविन ज्ञावलीको व्यवस्थापनमा हुनेछ भने सीमा गुरुङको कथा र दिलीप पन्तको प्रोडक्सन डिजाइन समावेश गरिएको छ। फिल्मको छायांकन सुशन प्रजापतिले गर्नेछन्।
Discussion about this post