इटहरी/ अभिनेता नाजिर हुसैन तेश्रोलिङ्गी अवतारमा प्रस्तुत हुने भएका छन् । फिल्म ‘गुन्यो चोलो’को एक अफिसियल पोस्टर सहित नाजिरको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको हो । हुन त यो फिल्मको यसअघि पनि एक पोस्टर सार्वजनिक गर्दै नाजिरको क्यारेक्टरलाई सार्वजनिक गरिएको थियो । तर, हालै सार्वजनिक पोस्टरले भने फिल्मलाई प्रतिक्षित बनाउन मद्दत पुगेको छ । नाजिरको क्यारेक्टरले धेरैको ध्यान केन्द्रित गरेको छ ।
पोस्टर सार्वजनिक सहित कार्तिक ९ गतेलाई प्रदर्शन मिति तय गरेको ‘गुन्यो चोलो’लाई समुन्द्र भट्टले निर्देशन गरेकी छन् । सार्वजनिक पोस्टरमा नाजिरलाई पहेँलो रङ्गको वानपिस लगाएर एक हातमा स्यान्डल बोकेको देखिन्छ भने अर्को हातमा नक्कली कपाल बोकेका छन् । उनको घाँटीको भाग र आँखा छेउको भागमा चोट लागेको पनि देख्न सकिन्छ । पिंडाभाव झल्किने उनको एक्स्प्रेसनसहित नाखमा नथिया, कानमा झुम्का र पुरै नारी श्रृङ्गारमा सजिएका नाजिरको ‘ट्रान्सवुमन लुक्स’ आकर्षक देख्न सकिन्छ ।
उनले यो क्यारेक्टरलाई फिट देखाउनकै लागी १६ केजी तौल घटाएको निर्माण टिमले जानकारी गराएको छ । यसअघि यो फिल्मको नाम ‘गुलाबी’ राखिएको थियो । पछि नाममा हेरफेर गरेर ‘गुन्यो चोलो – कमिङ अफ एज अफ अ गर्ल’ राखिएको छ छ भने नाजिरको क्यारेक्टर चाहिँ ‘गुलाबी’ हो भन्ने बुझ्न सकिन्छ । फिल्मकी निर्देशक भट्टले यो फिल्म निर्माण गर्नुअघि लैंगिक अल्पसंख्यकको क्षेत्रमा काम गर्ने संस्थाहरु ‘निलहिरा समाज’ र ‘मितीनी नेपाल’संग परामर्श तथा अनुसन्धान गरेकी थिइन् ।
यो फिल्मको पटकथा तथा संवादमा निर्देशक भट्टलाई अभिनेता नाजिरले सघाएका छन् । अमेरिकी कम्पनी ‘भिजन ईन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन ईन्टरटेन्मेन्ट’ को ब्यानरमा निर्माण भएको यो फिल्मको पोस्ट प्रोडक्सनको सम्पुर्ण कार्य नेपाल बाहिर गरिएको छ । फिल्ममा नाजिरको अलावा संचिता लुइँटेल, सुशील सिटाैला, अनुपम श्रेष्ठ र विशाल पहारीको पनि प्रमुख भुमिकामा अभिनय रहेको छ । आकाश बुढाथोकी र भि.भन्से जानुबोन निर्माता रहेको ‘गुन्यो चोलो’को कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जाेन्स्टन हुन् भने सहायक निर्माता अनुपम श्रेष्ठ रहेका छन् ।
Discussion about this post