इटहरी/ अभिनेता दयाहाङ राईको प्रमुख अभिनय रहेको फिल्म ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक भएको छ । २० भन्दा बढी अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिता जनाएर चर्चा कमाएको यो फिल्मको केही समयअघि सार्वजनिक टिजरले नै व्यापारीक हिसाबले अर्को सम्भावना बोकेको फिल्मको रुपमा हेर्न थालिएको थियो भने सार्वजनिक ट्रेलरले सो कुरामा थप विश्वास थपेको छ ।
नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को सार्वजनिक ३ मिनेट ३१ सेकेन्ड लामो ट्रेलरमा एउटा गाउँमा पहिलो पटक सडक र सवारी पुगेपछि आएको परिवर्तन र त्यसले पारेको असरको कथा प्रस्तुत गरेको छ । फिल्मको सार्वजनिक ट्रेलरमा नाबालक छोरा, श्रीमती र बाँसको चोयाबाट डोको, डालो र नाङ्लो बनाउदै जिविकोपार्जन गर्ने पिता अर्थात दयाहाङको सम्बन्धको कथा पनि प्रस्तुत गरिएको छ । हेर्नुस् ट्रेलर ।
गाउँमा बाटो र गाडी आएर सुविधा बढ्छ तर, दयाको परिवारमा भने व्यवसायिक संकट सिर्जना हुन्छ । बाँसबाट बनेका सामग्रीहरु मान्छेले किन्न छाडेपछि दयाहाङको संघर्षको कथा ‘गाउँ आएको बाटो’ ले प्रस्तुत गर्छ । फिल्ममा दयाको श्रीमतीको भुमिकामा पशुपति राई रहेकी छन् भने छोराको भुमिकामा प्रसान राई रहेका छन् । यही जेठ २५ गते रिलिज हुने फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतको पनि अभिनय रहेको छ । मेन्छ्यायम पिक्चर्स र बासुरी फिल्मसको प्रस्तुतीमा बनेको यो फिल्मको निर्मातामा अमोद राई र नवीन सुब्बा रहेका छन् । सन्जु राई, देवराज राई, नरहाङ राई र भिम राई कार्यकारी निर्माता रहेको ‘गाउँ आएको बाटो’ फिल्मको कथा महेश राईले लेखेका हुन् ।
Discussion about this post