इटहरी/ भारतिय फिल्म क्षेत्रको प्रतिष्ठित पुरस्कारको रुपमा रहेको ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड’ मा यसपटक नेपालबाट पनि उत्कृष्ट अभिनेता तथा अभिनेत्रीलाई अवार्ड प्रदान गरिने भएको छ । जसको लागी नेपालमा ३ सदस्यीय निर्णायक समिती समेत गठन गरिएको छ । उक्त समितिबाट उत्कृष्ट अभिनेत्रीको लागी अभिनेत्री प्रियंका कार्कीको नाम पठाईएको छ भने उत्कृष्ट अभिनेताको अवार्डका लागी अभिनेता भुवन केसीको नाम पठाईएको छ ।
यी २ ले लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गर्न लागिएको हो । भारत सरकार अन्तर्गत सूचना तथा प्रसारण मन्त्रालयबाट चलचित्रकर्मीहरुलाई हरेक वर्ष प्रदान गरिने यो अवार्ड सन् १९६९ मा दादासाहेब फाल्केको जन्मशताब्दीबाट सुरु भएको हो । उक्त वर्ष राष्ट्रिय चलचित्र पुरस्कारका लागि आयोजना गरिएको १७औँ समारोहमा पहिलो पटक अभिनेत्री देविका रानीलाई यो सम्मान प्रदान गरिएको थियो ।
यसपटक भने नेपालमा अभिनेता तथा निर्देशक आकाश अधिकारीको संयोजकत्वमा उमा गिरि र सुनिल कटवाल निर्णायक समिती चयन गरिएको हो । यहि समितिले अभिनेत्री कार्की र अभिनेता केसीको नाम आयोजक समितिलाई पठाएको हो । यो अवार्ड वितरण समारोह यहि मे ३० अर्थात जेठ १७ गते आयोजना हुनेछ । यसअघिको वर्ष २०२३ मा भने यो अवार्ड नेपालबाट उत्कृष्ट अभिनेताको रुपमा आकाश अधिकारी र उत्कृष्ट अभिनेत्रीको रुपमा करिष्मा मानन्धरले प्राप्त गरेका थिए । सो भन्दा पहिले सन् २०१८ सालमा नेपाली अभिनेत्री मनिषा कोइरालाले ‘दादासाहेब फाल्के मस्ट भर्सटाईल एक्ट्रेस अवार्ड–२०१८’ प्राप्त गरेकी थिइन् ।
Discussion about this post