इटहरी/ यहि जेठ ६ गतेदेखी कोशी प्रदेशको बिर्तामोड, बिराटनगर, बिरातचोक, इटहरी र झुम्कामा बृहत् ‘कोशी चलचित्र महोत्सव २०८१’ आयोजना हुने भएको छ । महोत्सवका लागी ४४ ओटा छोटो तथा लामो चलचित्र दर्ता भएको बिहिवार बिराटनगरमा अवस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यहि जेठको ६ गतेदेखी ६ दिनसम्म चल्ने महोत्सवलाई कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गतको सुचना शाखाले आयोजना गर्दैछ । प्रदेश सरकारबाट यो महोत्सव आयोजना गर्नलाई ५० लाख बजेट छुट्याइएको छ ।
महोत्सवलाई बृहत् बनाउन मन्त्रालयले कोशी प्रदेशमा स्थापना भएको केवल तामाङ नेतृत्वको चलचित्रकर्मी संघले बिर्तामोडको र अरुण कुमार प्रधान नेतृत्वको नेपाल चलचित्रकर्मी महासंघलाई बिर्तामोड बाहेकका ठाउको ब्यवस्थापनको जिम्मा दिएको छ । महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा बिर्तामोडमा गरिने तय भएको छ । मन्त्रालयले सार्वजनिक सुचना जारी गरेर यस महोत्सवका लागी कोशी प्रदेशमा बनेका चलचित्र दर्ताको आव्हान गरेको थियो । यहि बैशाख २७ गतेसम्म चलचित्र दर्ताको लागी म्याद तोकिएको थियो ।
मन्त्रालयले प्रकाशित गरेको सुचनामा २०७९ र २०८० मा निर्माण भएको र कोशी प्रदेशमा बनेको नेपाली, आदिवासी जनजाति, मैथिलीसंगै कोशी प्रदेशका राष्ट्रिय तथा मातृ भाषामा बनेका फिचर, सर्ट फिल्म वा वृतचित्रले सहभागी जनाउन पाउने भनेको थियो । यता राष्ट्रिय फिचर फिल्मको हकमा भने फिल्मको निर्माता तथा निर्देशक, चलचित्रको मुख्य कलाकार तथा चलचित्र निर्माण गर्ने कम्पनी कोशी प्रदेशको हुनुपर्नेसंगै फिल्मको ४० प्रतिशत छायांकन कोशी प्रदेशमा भएको हुनुपर्ने मापदण्ड तोकिएको थियो ।
६ गतेदेखी ११ गतेको अवधीमा चलचित्र कार्यशाला, अन्तर्कृया लगायतका अतिरिक्त क्रियाकलापहरु पनि हुने बताईएको छ त्यसै अनुरुप फिल्म छक्का पन्जा ४ र गोर्खा वारियरसंगै नालापानी, कृष्णलिला, बिहेपास, विछेद, काँडेतार, वानर सेना, थिम, रित, लुंङा, नि-पुग्याल, अभियान, हाम्रो जङ्गल, तु हमर जान हौ, सेमिफुङ, माङेना, घुम्टन, चारदाम, युप्पारुङ, हाङ्नान्द, लिलामे माईला, सिमे:वा, युक्पुङ (बस्ती), जमान-३, रातो जुन, जब प्रकाश जान्छ, आईसक्रीम, द रेड मुन, फु, नागा, मोख, माता, अदेख, चिना, जिउ पैँचो, के २, बाध्यता, कुमाक्ला फाक, खोक्पा, समयके खेला, धैर्य, बेङ्ठा, लौलसा परहके जस्ता लामो तथा छोटो फिल्महरु दर्ता भएका छन् ।
Discussion about this post