इटहरी/ कोशी प्रदेशमा ‘बोक्सीको घर’ फिल्म हेर्ने दर्शकलाई धन्यवाद दिएर सोमबार फिल्मकी निर्माता तथा अभिनेत्री केकि अधिकारी काठमाडौ फर्किएकी छन् । यतिबेला फिल्म दोश्रो सातामा सफलतापुर्वक चलिरहेको छ । पहिलो सातामा कोशी प्रदेशमा पनि दर्शकको यो फिल्मका लागी निकै राम्रो उपस्थिति थियो । त्यसैलाई मध्यनजर गर्दै फिल्मका तर्फबाट केकि सहित लेखक तथा निर्देशक सुलक्षण भारती र फिल्ममा अत्यन्तै रुचाईएकी बाल कलाकार सुपला सापकोटा कोशी प्रदेशका दर्शकलाई धन्यवाद दिन आएका थिए ।
भद्रपुर विमानस्थलमा ओर्लिएको टिमले झापा विर्तामोडको क्विएफएक्समा दर्शकलाई धन्यवाद दिँदै टिम दमक अवस्थित डि-म्याक्स सिनेमा हलमा पुगेको थियो । त्यहाँ सुपलाको लागी भनेर जन्मदिन केक पनि सर्प्राईज रहेको थियो । उपस्थित दर्शकहरुको माझ सुपलाले केक काटिन् । आफुलाई फिल्ममा रुचाईदिनु भएकोमा दर्शकलाई अनि जन्मदिनको सर्प्राईज केक काट्दिएको भएकोमा डि-म्याक्स सिनेमा हल परिवारलाई धन्यवाद दिइन् । केकिले पनि उपस्थित दर्शकहरुसंग सेल्फी खिच्दै पुर्वका दर्शकले निकै नै राम्रो साथ दिनुभएकोमा धन्यवाद भनिन् ।
त्यसपछि फिल्म युनिट मोरङको सुन्दरहँरैचाको विराटचोकमा अवस्थित ‘बिराट सिने’ हलमा पुग्यो । त्यहाँ केकि लगायत टिम आउदैछ भन्ने दर्शकलाई थाहै थिएन । एकैचोटि हलमा केकिलाई देख्दा उत्साहित हुँदै ताली पिटेर टिमलाई स्वागत गरेका थिए । त्यहाँ पनि दर्शकहरुसंग सेल्फी खिचेर फिल्मलाई साथ दिदै मनपराईदिनु भएकोमा धन्यवाद ज्ञापन गरे ।
सोमबार नै टिम काठमाडौ फर्कनुपर्ने बाध्यात्मक अवस्थाका कारण टिम अलि हतारमा थियो । त्यही क्रममा कोशी प्रदेशको मुख्य केन्द्र मानिने तथा फिल्महरुको राम्रै चहलपहल हुने स्थान इटहरीमा टिम पुग्यो । त्यहाँको इलाईट सिनेमा हलमा उपस्थित दर्शकलाई उनले अनि टिमले भेटे । हलका म्यानेजर नवराज केसिले केकि, शुलक्षण र सुपलालाई खदा लगाईदिएर स्वागत सम्मान गरे । त्यो बेला हलबाट दर्शक बाहिर निस्किसकेका थिए । त्यसैले केकिले बहिर नै दर्शकसंग सेल्फी खिच्दै गर्दा फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया पाए ।
मिडियासंग पनि कुराकानी गर्दै उनले इटहरीका दर्शकलाई आभार प्रकट गरे । त्यसपश्चात् पुर्वनिर्धारित तथा सोमबारको अन्तिम कार्यक्रमको लागी टिम विराटनगर तर्फ लाग्यो । विराटनगरमा रहेको सेन्ट्रल मल्टिप्लेक्समा एउटा सर्प्राईज कार्यक्रमको तय भएको थियो । चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखा, मोरङ जिल्ला शाखा र सेन्ट्रल मल्टिप्लेक्सले बाल कलाकार सुपलाको सर्प्राईज जन्मदिनको कार्यक्रम तय गरेको थियो । त्यहाँको हलमा दर्शक भेटेर सेल्फी खिच्दै धन्यवाद दिएर टिम बहिर निस्कदा उक्त सर्प्राईज खुलेको थियो । त्यहाँ केक काटेर बर्थ्डे सेलेब्रेसन गरिएको थियो । सुपलाले जन्मदिन मनाईदिएकोमा धन्यवाद ब्यक्त गरिन् भने केकिले उनको लागीको यो पछिसम्मको लागी यादगार क्षण रहने बताइन् ।
गएको बैशाख १४ गतेदेखी प्रदर्शनमा आएको फिल्मले प्रदर्शनको दोश्रो साता प्रवेश गर्दासम्म ७ करोड भन्दा माथीको ब्यापार गरेको छ । पुर्व यात्रा सम्पन्न गरेर सोमबार बेलुका नै काठमाडौ फर्केको टिम भोलि बुधबार २६ गते नेपालगन्जका दर्शक भेट्न निस्कदैछ । समाजमा महिलालाई कसरी बोक्सीको आरोप लगाईन्छ र समाजमै रहेका ब्यक्तिहरुबाट यातना दिने रुढीबादी परम्परागत संस्कारको कथा प्रस्तुत गर्ने बोक्सीको घरमा केकी र सुपलाको अलवा रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायत कलाकारको पनि अभिनय रहेको छ । बद्री अधिकारी निर्माता रहेको चलचित्रमा राज घिमिरे कार्यकारी निर्माताका रुपमा रहेका छन् ।
Discussion about this post