इटहरी/ चलचित्र अभिनेत्रीबाट असफलताको नमिठो झड्का पाएकी एलिजा गौतम म्युजिक भिडियो मोडलिङमा केही हदसम्म चलिन् । तर, पछिल्लो समय म्युजिक भिडियोमा पनि खासै सक्रिय छैनन् उनी । दुबैतिरबाट असफलताको सिकार भएकी उनी राजनितीमा होमिएकी छन् । गएको वर्ष नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी यतिबेला आलोचनाको घेराबन्दीमा छिन् । हुन त यसअघि पनि आलोचित नभएको भने हैन । तर, यसपटक भने उनी राजनैतिक अभिव्यक्तिका कारण आलोचित भएकी हुन् ।
पार्टी प्रवेश गरेसंगै उनलाई पार्टिले महिला बिभागको प्रमुखको हैसियत सुम्पेको छ । यसैले पनि मै हु भन्ने शैली त उनिमा आउने नै भयो । आफ्नो पार्टीको संरक्षक रेशम चौधरीलाई जन्मकैद सजाय तोकिए पछि त उनी कहाँ चुप बस्थिन् र ? आवेशमा आएर संचारकर्मीको माझ ‘यदि रेशम चौधरीलाई छुटाइएन भने देशमा आगो बल्छ’ भन्ने अभिव्यक्ति दिएपछि त यतिबेला आगो उनीमाथी नै बलेको छ ।
रेशम चौधरीलाई टिकापुर घटनामा दोषी ठहर गर्दै मंगलबार सर्वोच्च अदालतले उच्च अदालत, दिपालयले गरेको जन्मकैदको फैसलालाई नै सदर गरेपछि अदालतप्रति लक्षित गर्दै गौतमले धम्कीपूर्ण भाषा बोलेकी हुन् । ‘निर्दोष व्यक्ति थुनामा हुनुहुन्छ, आज राम्रो समाचार आउँछ भनेर हामी फूलमाला लिएर आएका थियौं’ भन्दै चौधरीको बचाउमा लागिन् भने ‘न्यायको विरुद्ध’ आन्दोलनमा उत्रने उनले चेतावनी समेत दिइन् ।
उनको यो अभिव्यक्तिको चौतर्फी विरोध भएपछि सामाजिक संजालमा एक स्ट्याटस लेख्दै ‘पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु, सरकारलाई खबरदारी गर्नु मेरो कर्तव्य हो । सोहि ठानेर मिडियामा बोले र खबरदारी गरे’ भनेकी छन् । आफू राजनीतिमा सिकारु मान्छे भएका कारण धेरै कमजोरी हुने भन्दै यस्तो लेखेकी छन् :
सम्पुर्ण लाई नमस्कार ।
राजनीतिमा सिकारु मान्छे हु ! म भित्र धेरै कमजोरी छन थाहा छ । त्यो सुधार गर्दैछु । केही कुरा समयले सिकाउदै गएको छ ।
म आबद्ध पार्टीका नेता रेशम चौधरी यति बेला जेलमा हुनुहुन्छ । पार्टीले केन्द्रिय सदस्य र महिला बिभाग प्रमुखको जिम्मेवारी दिएको छ । अदालतको फैसला हाम्रो पक्षमा नआउदा लाखौं कार्यकर्ता निराश छन । पार्टीको इमानदार सिपाही भएको नाताले आक्रोशमा केहि बोल्नु, सरकार लाई खबरदारी गर्नु मेरो कर्तव्य हो ।सोहि ठानेर मिडियामा बोले, र खबरदारी गरे । यसमा सुझाव दिने सम्पूर्ण लाई धेरै धेरै धन्यवाद । समाजका लागी केही गरौं भन्ने मनको हुटहुटीले राजनीतिमा जोडिएकि हु । आगामी दिनमा केहि सुझाव भए दिदै गर्नु होला । आफू भित्रको कमजोरी लाई सुधार गर्दै जाने छु ।
Discussion about this post