इटहरी / जेठ ११ गते ‘पुजार सार्की’ रिलिज हुने भएपछि अब यो मितिको भिडन्त दुई पक्षीयबाट त्रिपक्षीय हुने भएको छ । दिनेश राउत निर्देशित सिनेमा थपिनुअघि यो मितिमा पूजा शर्माको पहिलो एक्सन सिनेमा ‘दान्भी’ र अनमोल केसी स्टारर रोमान्टिक ‘फर्की फर्की’ रिलिज हुने तय भइसकेका थिए। यी दुई सिनेमा भने ‘पूजार सार्की’ भन्दा ठिक एकदिन अगाडि १० गते रिलिज हुँदैछ।
भर्खरैमात्र कास्कीबाट छायांकन सकेर काठमाडौं आएको ‘पूजार सार्की’ सिनेमाको हाल धमाधम पोस्ट प्रोडक्शन भइरहेको छ। यो मितिमा रिलिज हुने सिनेमाका वितरकहरुले विकल्प खोजिरहेको भए पनि ‘पूजार सार्की’ सर्ने मनस्थितिमा छैन।
केही दिनमा टिजर सार्वजनिक गर्दै यो सिनेमाले औपचारिक रुपमा आफ्नो रिलिज मिति तोक्दैछ। सिनेमामा प्रदीप खड्का, आर्यन सिग्देल, पल शाह, अन्जना बराइली, परीक्षा लिम्बु प्रमुख भूमिकामा रहेका छन्।
एकसाथ धेरै सिनेमा रिलिज हुँदा त्यसको असर व्यापार पर्ने गरेको छ। सिनेमाहरुले पर्याप्त र रोजे जस्तो शो नपाउने त छँदैछ। यस्तो ‘पुजार सार्की’ आउनुको पछाडि दिनेश राउत र ‘फर्की फर्की’का निर्माताको व्यक्तिगत रबावको लडाईंलाई कारक मानिएको छ।
रोहित अधिकारीको निर्माण र निर्देशक दिनेश राउतको निर्देशनमा ‘छब्बिस करोड’ नाम सिनेमा बनाउने घोषणा भएको थियो। यो सिनेमामा दिपक राज गिरी प्रमुख भूमिका गर्ने तय भइसकेको थियो तर आफ्नो सोचमाथि हस्तक्षेप भएको भन्दै राउत र अधिकारीले सहकार्यबाट हात झिकेका थिए।
यसबाट उनीहरुको सम्बन्ध व्यक्तिगत तहमै चिसिन पुग्यो। ‘२६ करोड’ नबन्ने पक्का भएपछि राउतले प्रदिप, पल, आर्यन लिएर ‘पुजार सार्की’को घोषणा गरे।
यो इगोमा अभिनेत्री पूजा शर्माको अनमोलले खेल्छु भनेर पारिश्रमिकसमेत बुझेर फिल्मबाट हात झिकेको अर्को ‘इगो’ पनि जोडिएको छ। अनमोलको पछिल्लो सिनेमा ‘छड्के-२’ सुपरफ्लप भएको छ। यसले पनि पूजालाई ‘दान्भी’ रिलिजका लागि कन्फिडेन्स मिलेको छ।
Discussion about this post