इटहरी / नयाँ वर्ष २०८१ सालको कोशेली स्वरुप यहि चैत्र ३० गते रिलिजको तयारीमा रहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार निर्माण कम्पनी बाँसुरी फिल्म्सले ट्रेलर सार्वजनिक हो । चार मिनेट लामो ट्रेलरले यो फिल्म शैक्षिक बेरोजगारीको कथावस्तुमा बनेको छ भन्ने बुझाउछ र कथाले आदर्शवादी लाग्ने ‘डिग्री माइला’नामक चरित्रलाई पछ्याउँछ । जोसँग डिग्रीको प्रमाणपत्र त छ तर उसले पढेको ज्ञानलाई व्यवहारमा उतार्दैन तर आफुले लिएको ज्ञान र ट्यालेन्टको घमण्ड गर्छ । डिग्री माइलामा दयाहाङ राईले निभाएको चरित्रमार्फत निर्देशकले मुलुकको शैक्षिक राजनीतिक, सामाजिक र युवापुस्ताको अवस्थालाई चित्रण गर्ने प्रयास गरेका छन् ।
दयाहाङ राई र आँचल शर्माको शीर्ष भूमिका रहेको सोसल–ड्रामा फिल्मका निर्देशक रामबाबु गुरुङले टिजर रिलिजदेखि नै दर्शकबाट प्राप्त प्रतिक्रियालाई लिएर आफूहरु उत्साहित रहेको बताउदै आएका छन् । हेर्नुस् ट्रेलर
फिल्म निर्माणमा बाँसुरी फिल्म्स र सुस्मा प्रोडक्सनले सहकार्य गरेका छन् । ओखलढुंगा र काठमाडौंमा छायांकन भएको फिल्ममा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय छ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने उखानलाई फिल्मले बटमलाइन बनाएको छ । रामबाबुले ‘डिग्री माइला’ रिलिजपछि २०८१ सालमा ‘सुन्दर बजार’ र ‘कबड्डी ५’ बनाउने तयारी गरिरहेका छन् ।
Discussion about this post