इटहरी/ आजबाट देशव्यापी प्रदर्शनमा आएको ऐतिहाँसिक नेपाली फिल्म गोर्खा वारियर हेर्न धरानका नगरप्रमुख हर्क साम्पाङले सामाजिक संजालबाट आग्रह गरेका छन् । उनले ‘लाहुरेको परिवारले गोर्खा वारियर फिल्म हेरेन भने पाप लाग्न सक्छ’ भन्दै एक स्ट्याटस मार्फत फिल्म हेर्न आग्रह गरेका हुन् ।
साम्पाङले नेपाली फिल्म यत्तिको बनेको छैन भन्दै अरुलाई पनि हेर्न आग्रह गरेका छन् भने धरान प्रिमियरका क्रममा आफू रोएको समेत स्मरण गरेका छन् । शुक्रवार उनले आफ्नो सामाजिक संजालमा ‘लाहुरेको परिवारले Gorkha Warrior फिल्म हेरेन भने पाप लाग्न सक्छ ! अनिवार्य हेर्नु गएर ! आज देखि नेपाल भर प्रदर्शन हुँदैछ ! अरुले पनि हेर्नु नेपाली फिल्म यतिको बनेको छैन ! रुँदा रुँदा हैरान भएँ अस्ति !’ भनेर लेखेका हुन् ।
बेलायत, धरान, पोखरा र काठमाडौमा भब्य रेड कार्पेट प्रिमियर शो आयोजना गर्दै आजबाट देशव्यापी प्रदर्शनमा आएको ‘गोर्खा वारियर’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो फिल्म आजबाट एक्लै प्रदर्शनमा आएको हो । गोर्खा वारियरमा नव अभिनेता रितेश चाम्ससँगै विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यो चलचित्रको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह–निर्मातामा रुपमा सुरेश राई छन् ।
Discussion about this post