इटहरी/ तामाङ जातिको विवाह संस्कारलाई झल्काउने फिल्म ‘चारदाम’ को धरानमा भब्य विशेष च्यारिटी शो सम्पन्न भएको छ । धरानमा स्थापना गर्न लागिएको विशाल पारुहाङ सुम्निमाको प्रतिमा सहयोगार्थ यो फिल्म धरानमा यहि शनिबार प्रदर्शन गरिएको हो । धरान अवस्थित फ्रेन्ड्स सिनेमामा १२ बजे ‘चारदाम’को विशेष आयोजना गरिएको थियो । फिल्म प्रदर्शनअघि फिल्म निर्माण तथा धरान प्रदर्शनमा अमुल्य सहयोग पुर्याउने विशिष्ट व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।
विशेष शोमा धरानका नगरप्रमुख हर्क साम्पाङको पनि विशेष उपस्थिति रहने भनिएको थियो । साम्पाङले आउने बताएको भएपनी श्रमदानमा ब्यस्त भएका कारण अन्तिम अवस्थामा उपस्थित जनाउन असमर्थ भएको खबर आएको फिल्मका लेखक, निर्देशक तथा कलाकार लाखमान योन्जनले जानकारी गराए । कोशी भिजन फिल्म्स प्रालीको ब्यानरमा निर्माण गरिएको ‘चारदाम’को यसअघि इटहरी, पोखरा र बराहक्षेत्रको चक्रघट्टिमा विशेष शो सफल प्रदर्शन गरिएको थियो ।
दर्शकहरुको सकारात्मक प्रतिक्रियाले उत्साहित रहेको फिल्मका अभिनेता सुवास तामाङ योन्जनले बताए । आफ्नो ८ वर्षपछिको कमब्याक सफल रहेको उनको कथन छ । यता निर्माण युनिटले यो फिल्मको दोश्रो सिक्वेल पनि बन्न सक्ने परिकला न्युजलाई जानकारी गराएको छ । दर्शकहरुले फिल्म जहाँबाट सकिन्छ, त्यहादेखीको कथा पनि हेर्न चाहेको प्रतिक्रिया पाएको निर्माण युनिटको भनाई छ । दोश्रो सिक्वेलबारे युनिट बसेर छलफल गर्ने लेखक, निर्देशक तथा कलाकार योन्जनले जानकारी गराए ।
यता ‘चारदाम’को अन्य ठाउँहरुमा समेत “विशेष शो” आयोजनाको तयारी भैरहेको छ । काठमाडौँ, पोखरा, भोजपुर, मोरङको बेलबारी लगायतका ठाउँहरुमा ‘चारदाम’ प्रदर्शनको तयारी निर्माण युनिटले गरिरहेको छ । मोहन लोप्चन तामाङको प्रस्तुतिमा तयार भएको फिल्मलाई मैना घिसिङ, मदन बहादुर राई, पूर्ण लिम्बू, वर्षा राजभण्डारी तामाङले संयुक्त निर्माण गरेका हुन् ।
भोजपुर र सुनसरीको विभिन्न स्थानमा छायाङ्कन गरिएको फिल्ममा सुकुमाया मोक्तान तामाङ, सुवास योन्जन तामाङ, मदन राई, शान्ति पाख्रिन, पूर्ण लिम्बू, मोहन लोप्चन, मेनुका राई, डम्बर कुमारी लिम्बू, कान्छा लामा, बाल कलाकार सुम्निमा तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ । यो फिल्म ‘चारदाम’मा ३ ओटा गीत समावेश गरिएको छ भने दीपक लिम्बू, मुना ठटाल, पूर्ण लिम्बू, जोनि तामाङ र पदम ग्यावाले गीत गाएका छन् । चलचित्र चारदाममा सुमन तामाङको छायाङ्कन तथा हेमन तामाङको सम्पादन रहेको छ भने अशोक मण्डलको शृङ्गार रहेको छ ।
Discussion about this post