इटहरी/ भोजपुरी तथा मैथिली फिल्म तथा म्युजिक भिडियोका लोकप्रिय चलचित्रकर्मी सन्तोष सरकारको कथा तथा पटकथामा निर्माण हुने फिल्म ‘१२ गाउँ’बाट समीर भट्टले अभिनेताको रुपमा नेपाली फिल्म उधोगमा डेब्यु गर्ने भएका छन् । ‘१२ गाउँ’लाई नेपाली फिल्म उधोगका लोकप्रिय अभिनेता तथा एक्सन स्टार विराज भट्टले आफ्नै होम प्रोडक्सनमा निर्माण गर्दैछन् । समीर उनै बिराजका छोरा हुन् ।होम प्रोडक्सनबाट आफ्नो सन्तानलाई फिल्म उधोगमा डेब्यु गर्ने लहरमा अब विराज भट्ट पनि थपिएका छन् ।
केही समयदेखी विराजले यो फिल्म निर्माण गर्ने चर्चा चलिरहेको बिचमा बिराजले २ दिनअघि आफ्ना छोराको सुगठित २ तस्वीर सामाजिक संजालबाट सार्वजनिक गर्दै १२ गाउँबाट छोराले अभिनेताको रुपमा डेब्यु गर्ने जानकारी गराएका हुन् । चक्लेटी र एक्सन लुक्समा देखिएका समिरको कसिलो बडिको यतिबेला फिल्म उधोगमा चर्चा चलिरहेको छ । समीर भारतमा अभिनयका साथसाथै मार्सल आर्ट र जिम सिकिरहेका छन् ।
थ्रिलर जनरामा निर्माण हुन लागेको यो फिल्ममा अभिनेता विराज भट्ट पनि प्रमुख भुमिकामा देखिनेछन् भने निर्देशन पनि उनैको रहने छ । भोजपुरी फिल्म उधोगमा पनि कहलिएका विराजले ४ वर्षपछि फिल्म निर्माण तथा निर्देशन गर्दैछन् । यसअघि उनले ‘साङ्लो’ नामक फिल्म निर्माण तथा निर्देशन गरेका थिए । सो फिल्मले अपेक्षाकृत व्यापार भने गर्न सकेन् । तर, फागुनबाट छायांकन सुरु गर्ने भनिएको यो ‘१२ गाउँ’ फिल्मले भने केही राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ ।
Discussion about this post