इटहरी/ आउँदो चैत्रको ९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को पहिलो गीतको भिडियो युट्युबमा सार्वजनिक गरिएको छ । यसअघि निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रचारप्रसार सुरि गरेको थियो । सार्वजनिक ‘आहा क्या राम्रो’ बोलको गीतको भिडियो हेर्दा बलिउड फ्लेभरको स्वाद लिन सकिन्छ । दर्जनौं कोरस डान्सरहरुसंग कलाकारहरूको ठुम्का मज्जाको देखिन्छ ।
माघेसंक्रान्तिको अवसर पारेर सार्वजनिक गरिएको गीतको भिडियोमा अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्मालाई विशेष फिचर्ड गरिएको छ । यस्तै भिडियोमा फिल्मका प्रमुख कलाकारहरू विपिन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झाको नृत्यले अझै रौनक थपेको छ । प्रोमोसनल गीतको रुपमा रहेको ‘आहा क्या राम्रो’ गीतलाई खुल्लामन्चमा सेट लगाएर केहिसमय अघि छायांकन गरिएको थियो । हेर्नुस भिडियो
यो गीत छायांकन गर्न ५ दिन लागेको निर्माण युनिटको भनाई छ । सुरुमा ३ दिनको सेड्युल रहेपनि छायांकनका क्रममा राम्रो गर्ने प्रयास गर्दा गर्दै ५ दिन लागेको फिल्मका निर्देशक प्रदिप भट्टराईले बताए । यो गीतमा एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको छ ।
यो गीतमा ठुम्का हान्दै गरेका अरुण र आश्मा यहि गीतमा मात्रै देखिने निर्माण युनिटको भनाई छ भने भिडियोको कोरसमा एक सय भन्दा बढी डान्सरहरुलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । यो फिल्म ‘महाजात्रा’ नेपालसंगै विश्वभर एकसाथ प्रदर्शनमा आउने छ भने अन्तर्राष्ट्रिय बजारबाट सर्वाधिक रकम पाएको निर्देशक भट्टराईको भनाई छ । म्याक्स दीपेश खत्रीसँगै यज्ञश्वर पौडेल निर्माता रहेको यो फिल्ममा अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको पनि अभिनय रहने छ ।
Discussion about this post