इटहरी/ केहि दिनअघि सामाजिक संजालमा हातमा पाउरोटी बिस्कुट बोकेका, कपाल लट्टा परेको, फोहोर अनि च्यातिएको लुगा लगाएका एकजना मान्छेको तस्विर सार्वजनिक भयो । झट्ट हेर्दा मानसिक सन्तुलन गुमाएका जस्तो देखिने ति व्यक्तिलाई सहजै जो कोहिले पनि उनि अभिनेता सौगात मल्ल हुन् भन्ने अनुमान लगाउन सक्दैन थिए । तर, ति व्यक्ति अभिनेता सौगात मल्ल नै थिए । कुनै पनि फिल्म तथा भिडियोको पात्र हुन् भन्ने नखुली सार्बजनिक भएको उक्त तस्वीरलाई अभिनेता नाजिर हुसैनले सौगातलाई नै मेन्सन गर्दै ‘यो के हालात बनाउनु भयो दाई तपाइँले? तपाईं यस्तो मान्छे हैन !’ भन्दै उक्त पोस्टर सामाजिक संजालमा पोस्ट गरेपछि त झनै सौगातले मानसिक सन्तुलन गुमाएछन् भन्ने भ्रममा संजाल प्रयोगकर्ताहरु परे ।
कतिले उनको कलाकारिताको तारिफ गर्दै आफुले निर्वाह गर्ने पात्रलाई न्याय दिएको कमेण्ट गरेका छन् भने केहिले चाहिँ सो फोटो एक फिल्ममा उनले निर्वाह गरेको पात्रको रुपमा देखिएका हुन् भन्ने पत्याएनन् । तर अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर फिल्म ‘अगस्त्य’ निर्माण युनिटले सौगातको उक्त गेटअप सहितको अफिसियल पोस्टर सार्वजनिक गरेपछि भने यो सबै भ्रमहरु तोडिएको छ । फिल्मका लेखक तथा निर्देशक सौरभ चौधरीले सोमबार सौगातको सो गेटअप र अर्को कसिलो शरीर सहित एक्सन लुक्समा रहेको पोस्टर सार्वजनिक गरेको छ । उक्त पोस्टरहरु सार्वजनिक गर्दै फिल्म निर्माण युनिटले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । नेपाल सहित विश्वव्यापी प्रदर्शनमा आउने गरि फिल्म युनिटले आउने फागुनको १८ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो मितिमा हालसम्म अगस्त्य एक्लै छ । सौगात मल्ललाई निर्माण युनिटले ‘सौर्य’ पात्रको रुपमा भिन्न दुइ गेटअपमा परिचित गराएपछि फिल्ममा उनको भूमिका र अभिनयप्रति सिनेप्रेमीमा कौतुहलता देखिएको छ ।
अगस्त्य निर्माण युनिटका अनुसार यी २ फरक-फरक गेटअपका लागि सौगातले सुरुमा २० केजी तौल घटाएका थिए भने पछि फेरी १० केजी तौल बढाएका थिए । यो फिल्ममा मल्टिस्टार कलाकारहरुको अभिनय रहेको छ । अन्य कलाकारहरुको क्यारेक्टर पोस्टर सार्वजनिक हुन बाँकी नै छ । सौगातको यो गेटअपले नै फिल्मलाई प्रतिक्षित बनाउन बल पुगेको छ भने सार्वजनिक हुन बाँकी रहेका अन्य पात्रहरुले फिल्मको हाईप अझै बढ्ने अपेक्षा गर्न सकिन्छ । डार्क हर्स इण्टरटेन्मेण्ट र सेभेन सिज इण्टरटेन्मेण्टको प्रस्तुतिमा निर्माण भएको अगस्त्यको यो पहिलो च्याप्टर हो । यो फिल्ममा सौगातको अलावा नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झा लगायतका कलाकारको समेत प्रमुख भूमिकामा अभिनय रहेको छ । फिल्ममा संजय लामाको छायांकन छ भने प्रकाश मल्ल, अनिष तामाङ र बिनोद पौडेल यो फिल्मको लगानीकर्ता हुन् । फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन् ।
Discussion about this post