इटहरी/ निर्देशक सुरज सुनुवारको निर्देशनमा बन्न लागेको चलचित्र ‘खजुरे ब्रो’ को यतिबेला धरानमा प्री प्रोडक्सनको कार्य धमाधम भई रहेको छ । दिब्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बन्न लागेको चलचित्रको युनिट धरानमा लोकेसन हन्टिंग पनि गरि रहेको छ । कमेडी जनरामा बन्ने चलचित्रको लेखन पनि स्वयम् निर्देशक सुनुवारको रहेको छ । सुनुवारले ८ बर्ष अघि चलचित्र ‘षडङ्ग’को निर्देशन गरेका थिए । नबीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्ने चलचित्रका कार्यकारी निर्माता डायमण्ड उप्रेती हुन् ।
शिशिर बिसंखेले छायाँकन गर्ने चलचित्र माघ पहिलो साताबाट फ्लोरमा जानेछ । चलचित्रमा काम गर्ने कलाकारहरुको बारेमा निर्माण टिमले कुनै जानकारी गराएको छैन । निर्माण टिमले धरानका मेयर हर्क साम्पाङ्ग संग भेटेको छ । हर्कले ‘खजुरे ब्रो’ को कथा सुनेर मज्जाले हाँसेको कुरा कार्यकारी निर्माता डायमण्ड उप्रेतीले बताए । धरानमा छायाँकनको लागी आफ्नो सम्पूर्ण साथ रहने समेत मेयर हर्कले बताएका छन् ।
फिल्ममा मेयर हर्कको समेत भूमिका रहने बताईएको छ । तर, उनि कस्तो र कुन भूमिकामा देखिदैछन् भन्ने बारे भने खुलाईएको छैन । अहिलेको दर्शकहरुको चाहना अनुसार पूर्ण मनोरंजन दिने उदेश्यका साथ चलचित्र निर्माण गर्न लागेको कलाकार तथा निर्माता नबीन मानन्धरले बताए । चलचित्रमा अनमोल गुरुङको संगीत रहनेछ । प्रकाश भुजेल युनिट प्रोडक्सन मेनेजर तथा प्रदीप भण्डारी लाइन प्रोडुसर रहेका छन् । हेम चन्द्र राई र सतिश राई स्थानीय को-अर्डिनेटर रहेका छन् । चलचित्रको छायांकन इटहरी, धरान, दार्जलिंग र काठमाडौँमा हुनेछ ।
Discussion about this post