इटहरी/ ओस्कार फिल्म अवार्ड पछीको प्रतिष्ठित मानिने ब्रीटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड ‘बाफ्टा’ मा नेपाली फिल्मले प्रतिष्पर्धा गर्ने अवसर पाएको छ । बेलायतमा हलिउड फिल्महरु प्रिमियर हुने आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर नेपाली फिल्मको स्तर वृद्धि गर्न सफल ‘गोर्खा वारियर’ फिल्मले यो अवार्डमा प्रतिष्पर्धा गरिरहेको हो । यो अवार्डको उत्कृष्ट ५ नोमिनेसनमा पुग्न विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ । यसको इन्ट्री लेभलमा प्रवेश गर्नु नै ठूलो कुरा मानिने गोर्खा वारियर फिल्मका निर्देशक मिलन चाम्सले बताए ।
उनका अनुसार इन्ट्री लेभल पार गरेपछी गोर्खा वारियरले स्टेज वान, जुरिले हेर्ने स्टेज दुई चरण पार गर्दै अहिले नोमिनेसनको लागी प्रतिष्पर्धा गरिरहेको छ । यो स्थानमा पुग्नु नै नेपाली फिल्म र आफ्नो लागी ठूलो कुरा र जित सरह भएको निर्देशक चाम्सको भनाई छ । प्रतिष्ठित बाफ्टा अवार्डमा पहिलो पटक नेपाली फिल्मले यो सानदार उपस्थिति जनाएको हो ।
गोर्खा वारियरले हलिउडका प्रसिद्ध फिल्महरु गार्डियन्स अफ द ग्यालेक्सी भोल्युम ३, हार्ट अफ स्टोन, द स्केपर, बार्बी, मिसन इम्पोसिबल डेड रिकोनीङ पार्ट वान, इन्डियाना जोन्स एण्ड डायल अफ डेस्टीनि, जोन विक च्याप्टर ४, ड इक्युलाइजर ३ जस्ता फिल्मसँग प्रतिष्पर्धा गरिरहेको छ । यो फिल्म गोर्खा वारियर बाफ्टा अवार्डमा ‘नट इन् अ इंगलिस ल्याङ्ग्वेज’ अन्तर्गत पहिलोचरणमा प्रवेश पाएको हो । बेलायतमा प्रिमियरसंगै बेलायती प्रधानमन्त्री ऋषी सुनकले फिल्मका लागी दिएको शुभकामना, प्रिमियरमा ब्रीटिस गोर्खाका उच्चस्तरीय सैनिकको उपस्थिति, अन्तर्राष्ट्रिय मिडियामा गोर्खा वारियरको चर्चा लगायतका कुराहरूका कारण गोर्खा वारियरले नेपाली फिल्मको इतिहासमा एक नयाँ रेकर्ड कायम गरेको छ ।
जसमा अब यो अवर्डमा सहभागीताले पनि नयाँ रेकर्ड कायम गरेको छ । गोर्खा वारियर निर्देशक चाम्सका अनुसार पहिलोचरणमा फिल्म हेरिएपछि ‘लङलिस्ट’ सार्वजनिक हुन्छ । त्यसपछि पुनः ती फिल्म मार्फत उत्कृष्ट पाँचको घोषणा गरिन्छ । अर्थात् अहिले गोर्ख वारियर यो अवार्ड प्रतिष्पर्धाको पहिलो चरणमा रहेको छ । गएको वर्ष यो फिल्म अवार्डमा बलिउड फिल्म ‘आरआरआर’ र ‘गंगुवाई कठियावाडी’ले पनि प्रवेश पाएको थियो ।
पहिलो चरणमा प्रवेश पाएको यी फिल्महरु त्यहीँबाट बाहिरिएको थियो । तर, भारतिय मिडियामा निकै ठुलो चर्चा भएको थियो । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भेको यो फिल्म गोर्खा वारियरमा रितेश चाम्स, विजय लामा, रेविक गुरुङ, रियर राई, शिशिर बाङदेल, कविता आले, बिरुप घले, सारा राई लगायत कलाकारहरूको अभिनय रहेको छ भने फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई रहेका छन् ।
Discussion about this post