इटहरी/ छायांकनको अन्तिम तयारीमा रहेको फिल्म ‘कर्साङ’मा अभिनेत्री शिल्पा मास्के अनुबन्ध भएकी छन् । उनी यो फिल्मका लागी अनुबन्ध भएसंगै अब ‘कर्साङ’को सम्पुर्ण कलाकार फाईनल भएको छ । शेर्पा जातिको सामाजिक कथावस्तुमा निर्माण हुने यो फिल्मलाई यम शेर्पाले निर्देशन गर्दैछन् ।
यसअघि ‘कर्साङ’ फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, सुरक्षा पन्त र छिरिङ शेर्पा अनुबन्धित भइसकेका थिए । अभिनेत्री छिरिङले यहि फिल्मबाट नेपाली फिल्म उधोगमा अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । उनले शेर्पा समुदायको फिल्म र दर्जनौं म्यूजिक भिडियोहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छन् ।
यता अभिनेत्री शिल्पा मास्के यसअघि सुदर्शन थापा निर्देशन र सुप्रीया थापा निर्माता रहने फिल्म ‘रामायण’ अनुबन्ध भएकी थिइन् । तर, अन्तिम चरणमा अनमोल केसीले उक्त फिल्म छाडेपछि अहिले रामायणको निर्माण रोकिएको छ । शिल्पाले चर्चामा रहेको भर्खरै छायांकन सकिएको फिल्म ‘रङ्गेली’को एक गीतमा आइटम डान्स समेत गरेकी छन् ।
हालै शिल्पा अनुबन्ध भएको ‘कर्साङ’ यार्सा फिल्मसको ब्यानरमा निर्माण हुँदैछ । यहि फिल्मबाट यम शेर्पाले पनि फिल्म निर्देशनमा डेब्यु गर्दैछन् । पुरूषोत्तम प्रधानको छायांकन रहने यो फिल्मको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाको विभिन्न स्थानमा केहिदिन पछिदेखी छायांकन सुरु गरिने निर्माण युनिटले जनाएको छ ।
Discussion about this post