इटहरी/छायांकन अगाबै टिजर सार्वजनिक गरेका ‘प्रेमगीत’ निर्माता सन्तोष सेनले सोलो निर्देशकको रुपमा डेब्यू गर्न लागेको फिल्म ‘बलिदान’लाई लिएर धेरैमा चासो देखिएको छ । ६ करोड बजेट पूर्वअनुमान गरिएको फिल्ममा अभिनेता अर्पण थापा अनुबन्ध भैसकेका छन् भने अर्को मुख्य भूमिकामा शुक्रबार निर्माता सेनसंग कागजी सम्झौता गर्दै अभिनेता सौगात मल्ल अनुबन्ध भएको जानकारी प्राप्त छ ।
लक्ष्मीपूजामा सार्वजनिक गरिएको टिजरमा डमीको रुपमा एक मधेशी पात्रलाई मसिहाको रुपमा प्रस्तुत गरिएको थियो । सोही पात्रमा सौगातले अभिनय गर्ने बुझिएको छ । निर्माता सेनको घरभित्रका अभिनेता मानिने प्रदीप खड्काको पनि अभिनय रहने चर्चा छ । यद्यपि, यसको पुष्टि भैसकेको छैन । फिल्मको प्रदर्शन मिति आगामी वर्षको दशैंको फूलपातीलाई घोषणा गरिएको छ । फिल्मको आगामी पुषदेखि छायांकन सुरु गरिने जनाइएको छ ।
दोस्रो पटक ‘बलिदान’ शीर्षकमा फिल्म बन्न लागेको हो । वि.सं. २०५४ सालमा निर्देशक तुलसी घिमिरेले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मुख्य भूमिकामा लिएर ‘बलिदान’ बनाएका थिए । यो फिल्म युवाहरूको सपना र बलिदानको कथामा आधारित थियो । अब निर्देशक सेनले द्वन्द्वकालको समयमा मधेशमा घटेको एउटा भयानक घटनामा फिल्म निर्माण गर्न लागेको जानकारी प्राप्त छ ।
Discussion about this post